प्रकाश डोटेल
स्याङ्जा, ६ साउन । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाले वार्षिक योजनामा झण्डै ९७ प्रतिशत भौतिक प्रगति गर्न सफल भएको छ । कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा संचालित योजना मध्ये ९६ दशमलब ५७ प्रतिशत योजनामा भौतिक प्रगति गर्न सफल भएको हो ।


कार्यालय मार्फत उक्त आर्थिक वर्षमा संचालित कुल ३० योजना मध्ये २९ वटा योजना सम्पन्न गरेको छ । ३० योजनाका लागि विनियोजित २ करोड ५५ लाख मध्ये २ करोड ३७ लाख १५ हजार रुपैयाँ खर्च गरेर कार्यालयले भौतिक प्रगतिसँगै ९३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
‘प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालयबाट जिल्लालाई ३० वटा योजनाहरु प्राप्त भएको थियो ।’ पर्यटन तथा उद्योग कार्यालय प्रमुख नारायण ढकालले भन्नुभयाे, ३० वटै योजनाको निर्माण सम्झौता भएपनि २९ वटा मात्रै योजनाहरु निर्माण सम्पन्न गरिएको छ ।’ उहाँले भन्नुभयाे, ‘३० वटै योजना सम्पन्न गरेको भए भौतिक र वित्तीय प्रगति थप राम्रो हुने थियो ।’
जिल्लाका ११ पालिका मध्ये वालिङ्मा ५, गल्याङ्मा ४, आँधीखोलामा ४, कालिगण्डकीमा ३ पुलतीबजारमा ३, फेदीखोलामा ३, अर्जुनचौपारीमा ३, भीरकोटमा २, चापाकोटमा २, बिरुवामा १ गरी ३० मध्ये २९ वटा योजना निर्माण भएको छ । भीरकोटका २ मध्ये १ योजना सम्झौता भएर पनि निर्माण हुन सकेन ।
पदमार्ग, पार्क निर्माण, मन्दिर संरक्षण र पर्यटन पूर्वाधार विकासमा बजेटको प्राथमिकता रहेको बताउँदै कार्यालयका प्रशासन शाखा प्रमुख कृष्ण लम्सालले भन्नुभयाे, ‘बजेटबाट ऐतिहासिक मठमन्दिर संरक्षण र आन्तरिक तथा बाह्यि पर्यटक लोभ्याउने पदमार्ग र पार्क निर्माण गरिएको छ ।’
पर्यटन तथा उद्योग कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो वर्ष राजश्व संकलनमा समेत बृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्ष ३३ लाख राजश्व संकलन गरेको कार्यालयले पछिल्लो वर्ष झण्डै २२ लाखले बढि कुल ५५ लाख ५५ हजार ७ सय ७० रुपैयाँ राजश्व संकलन गरेको लम्सालले जानकारी दिनुभयाे ।
रकम अभावमा योजना अलपत्र र निर्माण व्यवसायीको लापरबाहीले समयमै काम हुन सकेन भन्ने खबरले सर्वसाधारण आजित छन् । उद्योग कार्यालय स्याङ्जाले भौतिक र वित्तीय प्रगतिमा देखाएको सफलता अन्य कार्यालय र निर्माण कम्पनीले अनुशरण गर्नुपर्नेमा जिल्लाका अगुवाको जोड छ ।