काठमाडौ, ६ साउन । नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका बिषयमा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्नेमा अधिकांश सदस्यहरुले सुझाव दिएका छन् ।
पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने सदस्यहरुले राष्ट्राध्यक्ष भैसकेको व्यक्ति कुनै दलमा आउने की नआउने भन्ने बिषय पार्टीको मात्रै बिषय नभइ महत्वपूर्ण राजनीतिक विषय भएकाले स्पष्ट राजनीतिक निर्णय गर्नुपर्नेमा अधिकांश सदस्यहरुले सुझाव दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । यसले भोलि जनतामा, प्रणालीमा, व्यवस्थामा के प्रभाव र संविधानको भावनामा कस्तो नजिर र अभ्यास हुन्छ भन्ने विषयमा पार्टीले स्पष्ट एउटा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने मत अधिकांश केन्द्रीय सदस्यको मत रहेको उहाले बताउनुभयो ।


गौतमले केन्द्रीय कमिटी बैठकबाट यो विषयमा महत्वपूर्ण निर्णय लिने पनि जानकारी दिनुभयो । त्यस्तै बैठकमा मातहतका कमिटीहरु मुख्य गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय कमिटी समन्वय कमिटीहरुलाई संविधान अनुकुल कार्यकारी कमिटी बनाउनुपर्छ भन्ने कुरालाई जोडका साथ उठाइएको गौतमले बताउनुभयो ।
त्यस्तै उहाले बैठकमा सरकारको प्रभावकारिता, मूल्यबृद्धिलगायतका विषयमा पनि केन्द्रीय सदस्यहरुले कुरा उठाएको जानकारी दिनुभयो । नवौँ केन्द्रीय कमिटी बैठक मंगलबार नै सम्पन्न हुने गौतमले जानकारी दिनुभयो ।