काठमाडौं,८ साउन । बाढीका कारण रसुवागढीको मितेरी पुल बगाएपछि चीनमा अलपत्र परेका नेपाली नागरिकहरुले सिन्धुपाल्चोकको तातोपानी नाका हुदै स्वदेश फर्कन पाएपछि खुसी व्यक्त गरेका छन् ।
बुधबार तातोपानी नाका हुदै नेपाल फर्केका नेपाली नागरिकहरुले सरकारको पहलमा अर्को नाका हुँदै स्वदेश फर्कन पाएको भन्दै खुसी व्यक्त गरेका हुन् । साथै उनीहरुले चीनमा रहदा चीन सरकारले आफुहरुको राम्रो व्यस्थापन गरेको जनाएका छन् । दोलखाका निर बहादुर श्रेष्ठले सुरुको तीन दिन केहि समस्या भएपनि त्यसपछि भने चीन सरकारले खाने व्यवस्था गरेको जानकारी दिनुभयो ।


त्यस्तै रसुवाका ईश्वर कुमार आचार्यले रसुवागढीको मितेरी पुल बगाएपछि चीनको नाकामा रोकिएका सवारी साधान ल्याउन नसकिएको बताउनुभयो । चीन सरकारले दिनको तीन पटक खाने व्यवस्थाका साथै होटलमा बस्न चाहनेलाई समेत उचित व्यवस्था गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
त्यस्तै चीनमा फसेका नेपालीहरुको स्वास्थ्य उपचारको पनि उचित हेरचाह भएको आचार्यले बताउनुभयो । गत असार २४ गते भोटेकोसीमा आएको बाढीले रसुवागढीको मितेरी पुल बगाएपछि टिमुरे केरुङ सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि असारको पहिलो साता रसुवा नाका हुँदै केरुङ, कैलाश, मानसरोवर जाने नेपालीहरु तिब्बतीय भूभागमा नै अलपत्र परेका थिए । चीन सरकारले अलपत्र परेका २ सय ३ नेपालीहरुलाई उद्धार गर्दै बुधवार तातोपानी नाकासम्म ल्याइदिएपछि उनीहरु नेपाल आएका हुन् ।