कांग्रेस पदाधिकारी बैठकमा रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल

२०८२ श्रावण ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , ९ साउन । नेपाली कांग्रेसले कात्तिकमा हुन लागेको रुपन्देही ३ को उपनिर्वाचनमा मधेशवादी दलहरू एक भएर आए चुनौती हुनसक्ने निष्कर्ष निकालेको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा त्यहाँको वस्तुस्थितिबारे गम्भीर छलफल भएको प्रमुख सचेतक श्याम घिमिरेले बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘रुपन्देहीमा गएको निर्वाचनमा विभिन्न गठबन्धनहरू पनि थिए। यो गठबन्धनलाई पर राखेर समानुपातिक पार्टीको मत हेर्न हो भने कांग्रेस पहिलो पार्टी हो। २० हजार मत प्राप्त गरेको थियो। दोस्रो भएको एमालेले १६ हजार मत ल्याएको थियो। तेस्रो पार्टी रास्वपाले १४ हजार मत ल्याएको थियो। त्यसपछि मधेशवादी दलहरू थिए। अहिलेको पोजिसन के छ भन्न गाह्रो छ।’

उहाँले मधेस केन्द्रित दलहरू एक भएर लडे राम्रो उपस्थिति उहाँहरूको देखिसक्नेबारे पनि चर्चा भएको बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘तर, त्यहाँ कांग्रेस नै पहिलो पार्टी हो। प्राविधिक रूपले चुनाव हारेका हौँ। भोटको अवस्था मजबुत रहेको हाम्रो निष्कर्ष छ। उम्मेदवारबारे कुरा भएको छैन। प्रमुख चुनौती एमाले, रास्वपा, मधेस केन्द्रित दल एक भए उहाँहरू पनि हुनसक्छन्।’

उहाँले यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु पनि धेरै हुनसक्ने आकलन गरिएको पनि बताउनुभयाे। उहाँले सत्तामा सँगै भए पनि एमाले र कांग्रेस नै मिलेर जानेबारे अहिलेसम्म कुनै छलफल नभएको भन्दै पछिको कुरा भन्न नसकिने बताउनुभयाे।

बैठकमा रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण र कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अहिलेको अवस्थाबारे ब्रिफिङ गरेका थिए। त्यहाँ कांग्रेसले बालकृष्ण खाँणलाई अघि सार्न खोजेको चर्चा छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय