काठमाडौं , ९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ति गर्ने थलो बनाउन खोजिएको आरोप लगाएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद विनीता कठायतले कुलिङ अफ पिरियड हटाउन खोज्नुले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ति गर्ने थलो बनाउन खोजेको जस्तो देखिएको बताउनुभएको हो । कम्तिमा दुई बर्ष कुलिङ अफ पिरियड राख्न खोज्दा एमालेले राख्न नखोज्नुको कारण के रहेछ भन्दै उहाले प्रश्न गर्नुभयो । उहाले कुलिङ अफ पिरियडलाई जनताले नजिकबाट हेरिरहेको भन्दै होस पुराउन सुझाव दिनुभयो । सांसद कठायतले भिजिट भिसा प्रकरणमा टालटुले अध्ययन समिति बनाएर झारा टार्न खोजिएको टिप्पणी गर्नुभयो । यस बिषयलाई अन्तराष्ट्रिय जगतले समेत गम्भीरतापूर्व हेरिरहेकाले उच्चस्तरीय छानविन समिति बनाउन उहाले माग गर्नुभयो । आफ्ना माग पुुरा नभएकाले आन्दोलन जारी रहेको उहाको भनाइ छ ।


त्यस्तै बैठकमा राप्रपा सांसद धवल शम्शेर जवराले गत चैत्र १५ गते तीनकुने संविधानले दिएको अधिकार प्रयोग गर्दा राज्यका तर्फबाट अध्याधिक बल प्रयोग भएको दोहराउनुभयो । उक्त घटनालाई लिएर झुटा मुद्धा लगाएको भन्दै उहाले न्यायलयबाट न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । उहाले उक्त घटनाको संसदीय छानविन समिति बनाएर छानविन गर्न माग गर्नुभयो ।
भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै आन्दोलनरत रास्वपा र राप्रपाका सांसदले शुक्रबार पनि सदन बहिष्कार गरेका थिए ।