काठमाडौं , ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले खारेज गर्न नसक्ने स्पष्ट पार्नुभएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफुले पार्टी सदस्यता लिएको ४५ वर्ष भएको उल्लेख गर्दै अहिले पनि एमालेको परिवारमै आवद्ध रहेकाले आफ्नो सदस्यता कसैले खारेज गर्न नसक्ने बताउनुभएको हो ।


उहाले अघिल्लै वर्ष सदस्यता नवीकरण गरेको जानकारी दिदै आफू पदको लालसा नभएर पार्टी र देशका लागि केही गर्ने इच्छाले पार्टी राजनीतिमा फर्किएको धारणा राख्नुभयो ।
पार्टी केन्द्रीय कमिटीले आफ्नो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तीबाट जानकारी पाएको उहाले बताउनुभयो ।
भण्डारीले आफ्नो उद्देश्य पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीति मार्फत देश र जनताको सेवा गर्ने नै भएको स्पष्ट पार्नुभयो । संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि पूर्वराष्ट्रपति दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था नरहेको उहाले बताउनुभयो ।
भण्डारीले आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैं छोप्न नसकिने तर्क गर्नुभयो । उहाले जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुनै नक्ने तर्क गर्नुभयो ।
भण्डारीले आफ्नो निर्णयबाट विचलित नहुने उल्लेख गर्दै निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन पार्टी पंक्तिलाई आह्वान गर्नुभयो । उहाले नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुने समेत बताउनुभयो ।