स्याङ्जाको गौरव क्रिकेटका सन्दीप खत्रीलाई गल्याङ ब्याडमिन्टन क्लबद्वारा सम्मान

२०८२ श्रावण २६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल
स्याङ्जा,२६ साउन। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा मनमा राख्दै गल्याङका खेलप्रेमी युवाहरूले आफ्नो नगरको गौरवलाई सम्मान गरेका छन् । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–१० निवासी तथा स्याङ्जा क्रिकेट संघका अध्यक्ष, प्रदेश स्तरीय क्रिकेट खेलाडी सन्दीप खत्रीलाई गल्याङ ब्याडमिन्टन क्लबले विशेष कार्यक्रम मार्फत सम्मान गरेको हो ।

NPL (नेपाल प्रिमियर लिग) को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट चयन भएका खत्री हालै सम्पन्न प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा स्याङ्जालाई प्रथम स्थानमा पुर्‍याउन टोलीको नेतृत्व समेत गरेका थिए । गल्याङका खेलाडी मात्र नभई स्याङ्जा र गण्डकी प्रदेशको खेलकुद पहिचानलाई उचो बनाउने क्रममा खत्रीको योगदान प्रशंसनीय रहेको छ ।

उक्त सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य महेश प्रसाद भट्टराईले युवाहरूको क्षमता र परिश्रमको कदर गर्नु केवल सरकार वा केही व्यक्तिको मात्र नभै हरेक नागरिकको साझा जिम्मेवारी रहेको बताउनुभयो । खेलकुदमा स्याङ्जा सधैं अग्रस्थानमा रहनुका पछाडि यहाँका प्रतिबद्ध खेलाडी, प्रशिक्षक, क्लबहरू र खेलकुद प्रेमीहरूको अथक मिहिनेत रहेको पनि बताउनुभयो । त्यस्तै खेल केवल जित–हारको कुरा मात्र नभई अनुशासन, एकता र आत्मविश्वासको पाठशाला हो भन्ने कुरा स्मरण गराउँदै सबै मिलेर यस्ता प्रतिभाहरूलाई संरक्षण र प्रोत्साहन गर्न सके स्याङ्जाको मात्र होइन, सम्पूर्ण प्रदेशको गौरव अझ माथि पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै क्लबका अध्यक्ष सुरेश सुवेदीले गल्याङले ब्याडमिन्टनमा पनि प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको उल्लेख गर्दै गल्याङका खेलाडीहरू नगरकै गहना भएको र उनीहरूको सम्मान र प्रोत्साहन गर्ने सबैको जिम्मेवारी रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा गल्याङ ब्याडमिन्टन क्लबका सल्लाहकार महेन्द्र श्रेष्ठ, बुटवल पावर कम्पनी गल्याङका प्रमुख डोल खरेल, क्याप्टेन ओम थापा, गोपाल गाहा, श्याम श्रेष्ठ लगायतले खेलकुदमा गल्याङको अग्रणी स्थानको प्रशंसा गर्दै सम्मानित खेलाडीलाई आगामी दिनमा अझै उच्च सफलता प्राप्त गर्न शुभकामना दिएका थिए ।

क्लबका अध्यक्ष सुरेश सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय