क्रान्ति अर्याल
स्याङ्जा, २ भदौ। गत साउन २३ गते देखि बेपत्ता भएकी कालीगण्डकी गाउँपालिका–४ बिर्घाकी २६ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डे मृत अवस्थामा फेला परेका छन् ।
नवलपुरको कावासोति नगरपालिका–१२ पिठौली स्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा श्यामकलाको शव भेटिएको हो । सोही क्षेत्रमा करिब ३०० मिटर तलतिर मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारीमा अर्पितको शव भेटिएको कालीगण्डकी–४ का वडा अध्यक्ष यादव पाण्डे सुन्दरले जानकारी दिनुभएको छ । उनका अनुसार शवहरू भेटिँदा पहिल्यै कुहिएको अवस्थामा थिए ।


श्यामकला अघिल्लो हप्ता आफ्ना छोरासहित “माइत जान्छु” भन्दै घरबाट निस्किएकी थिइन् । त्यसपछि गल्याङ नगरपालिका–५ स्थित सेतीवेणी नजिकै कालीगण्डकी नदी किनारमा उनको झोला, मोबाइल फोन, चप्पल र बालकको जुत्ता फेला परेपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो ।
हाल दुवै शवलाई मध्यबिन्दु प्रादेशिक अस्पताल कावासोति पुर्याइएको छ । मृतक बालकलाई कानको मुन्द्रा र घाँटीमा लगाएको मालाबाट पहिचान गरिएको वडा अध्यक्ष पाण्डेले बताउनुभयो । थप कानुनी प्रक्रिया र औपचारिक पहिचानका लागि श्यामकलाको परिवार अस्पताल पुगेको छ ।