काठमाडाै,२ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सङ्घीय निजामती सेवा विधेयकलाई समयसापेक्ष बनाएर अघि बढाइने बताउनुभएको छ ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री न्यौपानले विधेयकमाथि उठेका आशंकालाई समेत निराकरण गर्दै समयसापेक्ष बनाएर अघि बढाइने बताउनुभएको हो । उहाले कर्मचारी सरुवा, बढुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन समेत विधेयकलाई छिटो अघि बढाउनुपर्नेमा जोड दिनुभयो । कर्मचारीहरुले भनसुनका आधारमा नभइ मापदण्डका आधारमा स्वचालित सरुवा प्रणालीलाई विशेष ध्यान दिइएको उहाले बताउनुभयो ।


बैठकमा समिति सदस्यहरुले संविधान, सङ्घीयता, समानुपातिक समावेशिता र पारदर्शिताका साथै विधेयकमाथि उठेका प्रश्नलाई समेत ध्यान दिएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
समिति सदस्य घनश्याम रिजालले निजामति कर्मचारीको सेवा सुविधाका लागि विधेयक बनाएपनि उनीहरुले नै विधेयकलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाउनुभयो । उहाले बाहिर देखिएका जिज्ञासालाई समाधान गर्दै विधेयकलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
त्यस्तै समिति सदस्य भुवन बहादुर सुनारले उक्त विधेयकमाथि राष्ट्रियसभाबाट पनि गडबढी हुन्छ भन्ने आशंका हट्ने वातावरण तयार गर्नुपर्ने जिकिर गर्नुभयो ।
त्यस्तै समिति सदस्य सुरेश आलेमगरले सर्वाधिक चासोको रुपमा रहेका विधेयकलाई संघीयताको मर्मअनुरुप अघि बढाउन सुझाव दिनुभयो ।
प्रतिनिधिसभाबाट पारित उक्त विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको हो । विधेयकमाथि १९३ वटा प्रस्ताव दर्ता भएका छन् ।