गल्याङ जेसीजद्वारा आयोजित तीज गीत नृत्य प्रतियोगितामा स्मृति पाण्डे प्रथम

२०८२ भाद्र ८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल
स्याङ्जा, ८ भदौ । तीजको उल्लाससँगै गल्याङ बजार शनिबार साँस्कृतिक रंगले सजियो । गल्याङ जेसीजले आयोजना गरेको “खुल्ला अनलाइन तीज गीत–नृत्य प्रतियोगिता २०८२” को समापन कार्यक्रममा गीत, नृत्य र प्रस्तुतिका लहरहरूले माहोललाई जीवन्त बनाएको थियो ।

११४ जना प्रतिस्पर्धी मध्ये स्मृति पाण्डेले सबैलाई पछि पार्दै प्रथम स्थान हात पारिन् । त्यस्तै हिरा थापामगर दोस्रो, दीक्षा भट्टराई तेस्रो र योग्यता पल्ली सान्त्वना स्थानमा रहिन् । त्यसैगरी अर्चना त्रिपाठी र आयुषा खत्रीले बेस्ट स्माइल, सुस्मिता एसके र योग्यता पल्लीले बेस्ट कष्टुमको उपाधि हात पारे । विजेतालाई क्रमशः रु १० हजार, ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । सहभागी सबैलाई जगत्रदेवी नर्सरीका प्रदीप पाण्डेद्वारा मरिङ्गाको बिरुवा वितरण गरिएको थियो ।

उक्त समापन समारोहमा बोल्दै गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले यस्ता गतिविधिले युवालाई सिर्जनात्मक अभिव्यक्तिको अवसर दिने बताउँदै प्रशंसा गर्नुभयो ।

त्यस्तै उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले तीज पर्वलाई सांस्कृतिक गतिविधिबाट अझ अर्थपूर्ण बनाउन सकिने धारणा राख्नुभयो । त्यस्तै वडा नं ३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई , ९ का वडा अध्यक्ष नामदेव खनाल लगायतले पनि कार्यक्रमको भव्य सफलताको शुभकामना दिदै आफ्नो धारणा राख्नुभएको थियो ।

त्यस्तै गल्याङ जेसीज वर्ष २०२५ का अध्यक्ष ज्ञानेन्द्र पाठकले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै यस्ता सांगीतिक र सांस्कृतिक गतिविधिले नगरलाई गौरवान्वित बनाएको बताउनुभयो ।

स्थानीय जनप्रतिनिधि, समाजसेवी, कलाकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति र चर्चित कलाकारहरूको प्रस्तुतीले कार्यक्रममा अझै आकर्षण थपेको थियो । अनलाइन भिडियो र प्रत्यक्ष प्रस्तुति दुवैलाई आधार बनाएर गरिएको निर्णायक प्रक्रियाले प्रतिभालाई निष्पक्ष मूल्यांकन गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय