काठमाडौं, ९ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरुसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो ।
समितिले निकालेको साइत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ ।


विगतमा समितिकै पदाधिकारीले प्रमाणित गरेर सम्बन्धित निकायलाई साइत पठाउने गरिएकामा यस वर्ष भने गत असार २३ गतेदेखि समिति पदाधिकारीविहीन भएकाले मन्त्रालयमा पठाइएको समितिका प्रशासन सहायक खिलहरि घिमिरेले जानकारी दिए ।
इन्द्रजात्राको साइतको कार्यक्रम आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयाका दिन वनयात्रा गर्ने नियम रहेकामा आज बिहान ०९ः४६ बजे वन यात्रा सुरु भएको हो । आज राति ०९ः०३ बजे इन्द्रध्वजोत्थानका लागि लिङ्गोको रूख काट्ने साइत छ ।
समितिले दिएको आज रातिको साइतमा काटिने लिङ्गो भदौ १५ गते आइतबार भोटाहिटीबाट नगर प्रवेश गराइन्छ । इन्द्रजात्राको परम्परागत नियमअनुसार भोटाहिटीबाट अघि बढाउनुलाई ‘नगर प्रवेश’ भनिने गरेको उनले बताए ।