स्याङ्जाबाट भगवती अर्याल ‘शी लिड्स आइकन’ मा

२०८२ भाद्र १०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, १० भदौ । नेपाली महिला जनप्रतिनिधिहरुको कामलाई प्रचारप्रसार गर्ने अभियान अन्तर्गत गत वर्षदेखि सञ्चालन गरिएको ‘शी लिड्स आइकन’ को दोस्रो संस्करण हुने भएको छ । जसका लागि स्याङ्जाको भीरकोट नगरपालिकाबाट नगर उपप्रमुख भगवती रेग्मी अर्याल छनोट हुनुभएकाे छ ।

कल्प इम्पावर वेमेनद्वारा आयोजित उक्त आइकन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत सञ्चालित छ । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि मध्येबाट महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहिता क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्यसम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधिलाई विश्वसामु परिचित गराउने अभियान शी लिड्स आइकन गर्दै आएको कल्प इम्पावर वेमेनले जनाएको छ ।

जस अन्तर्गत दोस्रो संस्करणको ३१ उत्कृष्ट सार्वजनिक गर्दै भोट तथा निर्णायकको निर्णयद्वारा आइकन छनोट गरिने बताइएको छ । देशभरका १३१ प्रेरणादायी महिला जनप्रतिनिधिबाट विभिन्न मापदण्डका आधारमा ३१ जना छनोट गरिएकोमा स्याङ्जाबाट भीरकोट नगरपालिकाकी उपप्रमुख भगवती रेग्मी अर्याल छनोट हुनुभएकाे छ । ‘हामी रोज्दैछौं, हाम्रा प्रतिनिधि’ भन्ने नारासहित शी लिड्स आइकनले अभियान सञ्चालन गरेको हो ।

आयोजकका अनुसार यस संस्करणमा कुल १३१ वटा आवेदन प्राप्त भएका थियो । त्यस मध्ये प्रकिया पूरा भएका १११ आवेदनमध्ये कोशी प्रदेशबाट २०, मधेश प्रदेशबाट १२, बागमती प्रदेशबाट १७, गण्डकी प्रदेशबाट १६, लुम्बिनी प्रदेशबाट १६, कर्णाली प्रदेशबाट १२ र सुदूरपश्चिम प्रदेशबाट १६ आवेदन रहेको थियो । यसमध्ये प्रमुख/अध्यक्षको कुल संख्या १० र उपप्रमुख/उपाध्यक्षको कुल संख्या १०१ रहेको थियो ।

१११ महिला जनप्रतिनिधिको आवेदनबाट वरिष्ठ राजनीतिज्ञ तथा प्रथम महिला मुख्यमन्त्रि अष्टलक्ष्मी शाक्य, सञ्चार तथा रणनीतिज्ञ चारु चडड़ा र लैंगिकता र समानता विशेषज्ञ सरु जोशी सहितको निर्णायक मण्डलले कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट ५, बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट ४, लुम्बिनी प्रदेशबाट ४, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ५ जना गरी जम्मा ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिहरु छनोट गरेका छन् । अन्तिम छनोटमा ७ प्रमुख र २४ जना उपप्रमुख छन् ।

गण्डकी प्रदेशबाट स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाकी उपप्रमुख भगवती रेग्मी अर्याल, पर्वत जिल्लाको मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्मा, लमजुङ् जिल्ला बेशीसहर नगरपालिकाकी उपप्रमुख पद्मा गुरुङ र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारी अन्तिम प्रतिस्पर्धीका रुपमा छनोट भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार