काभ्रेपलाञ्चोक, १० भदौ । झण्डै तीन सातापछि सञ्चालनमा आएको अरनिको राजमार्ग पुन: अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी २ इकोमा पुन: सडक भासिएपछि सोमबारबाट राजमार्ग अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार, सोमबार दिउँसो ४ बजेबाट अरनिको राजमार्गको इकोमा सडक भासिएर सडक अवरुद्ध भएको हो ।


उक्त खण्डमा ६ मिटर सडक भासिएको छ । सडक खुलाउने प्रयास भएपनि खुलाउन समय लाग्ने राइले जानकारी दिए । ‘पानी बगिरहने समस्याले पानी सँगै झरेको पहिरोले सडक भासिएको छ, भारी बोक्ने भरियालाई हिँड्नसमेत समस्या भएको छ,’ राईले भने ।
इकोकै कारण गत साउन १७ गते देखि अवरुद्ध भएको सडक गएको बिहीबारबाट सञ्चालनमा आएको थियो । सडक अवरुद्ध हुँदा तातोपानी नाका समेत बन्द भएको छ ।