गण्डकी प्रदेशमा कर्मचारी व्यवस्थापन हुन्छ– मन्त्री बराल

२०७८ कार्तिक २९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गण्डकी, २९ कात्तिक । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिनुभएकोे छ । अर्थ मन्त्रालयद्वारा आइतबार मुस्ताङमा आयोजित बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तरकृया एवं छलफल कार्यक्रममा उहाँले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेको हुँदा छिट्टै कर्मचारी व्यवस्थापन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “ सङ्घीय सरकारले प्रदेशमा आवश्यक पर्ने कर्मचारी व्यवस्थापन गर्न नसक्दा र प्रदेशले लोकसेवा आयोग ढिलो ल्याउँदा कर्मचारी व्यवस्थापन गर्न कठिन भएको हो । ” प्राप्त बजेट बढीभन्दा बढी कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिँदै मन्त्री बरालले अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब रु पाँच अर्ब कम बजेट विनियोजन भएकाले प्राप्त बजेटलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख राजेन्द्र शेरचनले कर्मचारी अभावले गर्दा विकास निर्माण एवं जनताका धेरै काम प्रभावित भएको बताउनुभयो ।

अर्थ मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालले बजेट कार्यान्वयनको अवस्था बुझी कठिनायी भएका अवस्थामा सहजीकरण गर्ने उद्देश्यले जिल्लामा छलफल गरिएको जानकारी दिनुभयो । कोष लेखा तथा नियन्त्रण कार्यालय मुस्ताङका डालेश्वर अर्यालले प्राकृतिक स्रोत साधनबाट राजस्व सङ्कलन हुन नसकेको गुनासो गर्नुभयो । स्वास्थ्य कार्यालय मुस्ताङका टीकाराम भण्डारीले मुस्ताङमा हाल दुई होम आइसोलेसनका कोरोना सङ्क्रमित छन् भने जिल्लामा कोरोनाबाट हालसम्म १५ जनाको मुत्यु भएको जानकारी दिनुभयो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख विवेक सिग्देलले जिल्लामा छवटा बहुवर्षीय योजना भएको जनाउँदै यसै वर्ष उक्त योजनासहित अन्य दायित्व कार्यालयलाई करिब रु १४ करोड आवश्यक पर्ने भएको दाबी गर्नुभयो । सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रामचन्द्र ढुङ्गानाले हालसम्म आफु मात्र एक कर्मचारी भएकाले काम गर्न कठिन भएको गुनासो गर्नुभयो । हालै गठन भएको कार्यालयमा एक मात्र कर्मचारी हुँदा आफूले चाहेर पनि काम गर्न कठिन भएको उहाँको भनाइ छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अर्थमन्त्रालयका शाखा अधिकृतद्वय केशव सुवेदी, डिल्ली सुवेदीलगायतका प्रदेशका विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिले विकास निर्माणका बारेमा चर्चा गर्नुभएको थियो ।

यसैबीच, आइतबारै मुस्ताङमा आएको हिउँपहिरोमा परी घाइते भएकालाई मन्त्री बरालले जिल्ला अस्पताल मुस्ताङमा पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभयो । हिउँपहिरो गएको क्षेत्र घट्टेखोला क्षेत्रमा पुगेर समेत उहाँले स्थानीयलाई सचेत रहन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार