ललितपुर , ३ साउन । साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन ललितपुरको कुम्भेश्वरमा भव्य मेला लागेको छ । कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेकाले सो स्थानमा स्नानका साथै महादेवको आराधना गर्न ठूलो सङ्ख्यामा दर्शनार्थीको घुईचो लागेको छ । मन्दिरभित्रका साथै बाहिर डोरो तथा जनै लगाइदिने र लगाउने सर्वसाधारणको पनि व्यापक सहभागिता रहेको थियो । अगस्त्य ऋषिले कुम्भ अर्थात् कलशमा महादेवको आह्वान गरेर उत्पत्ति गराएकाले कुम्भेश्वर महादेव भनिएको स्थानीयहरुले जनाएको छ ।
सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरलाई बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन् । श्री स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर महादेव पनि एक हुन् । मार्कण्डेय ऋषिले सर्वेश्वर महादेवको आराधना गरी आफ्नो छोटो आयुलाई चिरञ्जीवी बनाएको कुरा पुराण आदिमा उल्लेख छ । सर्वेश्वर महादेवको आराधना गरे रोग व्याधि निको भई दीर्घायु प्राप्त हुने विश्वास हिन्दू तथा बौद्ध धर्मावलम्बीमा छ ।