इलाम,१६ भदौ । राज्यको पनि करुणा हुन्छ भन्दै सुन काण्डमा समातिएका मुख्य नाइकेलाई उन्मुक्ति दिने रास्वापा सभापति तत्कालीन गृहमन्त्री रबि लामिछानेले सुशासनको गफ नदिन नेपाली काङ्ग्रेसका उपसभापति पुर्वमन्त्री धनराज गुरुङले आग्रह गर्नुभएको छ ।
सनिवार इलाम क्षेत्र नम्बर १ को (ख ) प्रदेश भेलालाई सम्बोधन गर्दै उपसभापति गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्ष्यित गर्दै भन्नुभयो “२०४४ सालदेखि यता सरकारी सेवा सुबिधा लिएका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने प्रस्ताव नेपाली काङ्ग्रेसले गरेको छ । त्यसमा साथ दिने हिम्मत छ ? ” उहाँले भाषणमा भन्दा पनि व्यबहारमा नयाँ पन देखाउन नयाँ राजनैतिक दलाललाई आग्रह गर्नुभयो । भ्रष्टाचार अन्त्यका गफ मात्रै गर्ने र आफू नेतृत्वमा भएका बेला ठुला भ्रष्टाचारीलाई उन्मुक्ति दिने गरेको भन्दै बोलि अनुसारको व्यबहार गर्न उहाँले आग्रह गर्नुभयो ।
भ्रष्टाचार अन्त्य गर्न पाँच सय र हजार नोट बन्द गर्ने प्रस्ताव आफुले राखेपनी पारित हुन नसकेको भन्दै साच्चिकै भ्रष्टाचार अन्त्य गर्न यी नोटहरु बन्द गर्ने प्रस्तावमा समर्थन गर्न भ्रष्टाचार विरुद्धमा उभिन्छौ भन्नेहरुलाई एक भएर समर्थन गर्न समेत उहाँको आग्रह थियो ।