बर्षे आलु संरक्षणमा गाँउपालिका,किसानलाई निशुल्क बिऊ वितरण

२०७८ माघ १६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा १६ माघ । आलुमा आत्मनिर्भर बनाउन आलुको विऊ वितरण गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाँउपालिकाले पालिकालाई आलुखेतीमा आत्मनिर्भर बनाउन बर्षे आलुको विऊ वितरण गरेको हो । आलुको पकेट क्षेत्र घोषणा गरेर पालिकाको उच्च पहाडी क्षेत्रका किसानलाई गाँउपालिकाले बर्षे आलुको विऊ वितरण गरेको जनाएको छ । गएको बर्ष आलुखेतीको परिक्षण गरेको गाँउपालिकाले यो पटक भने आत्मनिर्भर बनाउने गरी आलुको विऊ वितरण गरिएको पालिका अध्यक्ष दिर्घनारायण अर्यालले बताउनुभयाे ।

परिक्षणका लागि वडा नम्वर ५ आरुचौरमा आलु लगाइएको थियो उनले भने,‘बर्षे आलुखेती राम्रो भएपछि किसानलाई निशुल्क बिऊ वितरण गरेका छौं ।’ यो पटक लगाएको आलु अर्को साल गाँउपालिकामा भरी लगाउने योजनामा छौं उहाँले भन्नुभयाे । हिउँदे आलुको भन्दा बर्षे आलुको लागि यहाँको माटो उपयुक्त भएकाले गाँउपालिकाले बर्षे आलु उत्पादनमा जोड दिएको छ ।

गाँउपालिकाको वडा नम्वर ५ पालिका भरीकै उच्च पहाडी क्षेत्र हो । यहाँ हिउँदे आलु भन्दा बढी बर्षे आलुखेती लगाइदै आएको थियो । प्राविधिक समस्या र माटो परिक्षणको समस्याले उत्पादनमा ह्रास हुनथालेपछि प्रायप्त आलुखेती लगाउन छाडेका थिए । यसको निरन्तरताका लागि पालिकाले आलु पकेट क्षेत्र घोषणा गरेर यहाँका किसानलाई आलुमा आत्मनिर्भर बनाउने लागेको हो ।

अहिले ९ वटा टोलसमिति गठन गरेर समिति मार्फत आलुको विऊ वितरण गरिएको वडा नम्वर ५ अध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता ख्यामनारायण खनालले बताउनुभयाे । उच्च पहाडी क्षेत्रमा हुने तारे आलुको विऊ राम्रो फल्ने भएपछि सोही विऊ वितरण गरेको उहाँले बताउनुभयाे । अहिले वितरण गरेको आलु विऊपुँजी हो उहाँले भन्नुभयाे ,‘अर्को साल यो आलु गाँउपालिका भरी वितरण गर्ने हो ।’ किसानले गाँउपालिकालाई आलुको विऊ विक्रि गर्ने छन् उनीहरुको आम्दानीको श्रोत पनि हुने विऊ संरक्षण पनि हुने प्रवक्ता खनालले भन्नुभयाे । उच्च पहाडी भेग बागलुङको तारे भन्ने क्षेत्रबाट विऊ ल्याइएको हुँदा यो आलुको नाम तारे नै राखिएको हो ।

स्याङ्जा हिउँदे आलुमा आत्मनिर्भर भएपनि बर्षे आलुमा भने निर्यातको भरमा बस्नुपर्ने बाध्यता थियो । गतबर्षदेखी आँधीखोला गाँउपालिकाले बर्षे आलुखेती शुरु गरेको थियो । यो पटक अर्जुनचौपारी गाँउपालिकाले पनि शुरु गर्दै छ । उच्च पहाडी क्षेत्रमा मात्रै हुने बर्षे आलु संरक्षण र आत्मनिर्भर बनाउन लागेको यो अभियानमा यहाँका स्थानीयले पनि साथ दिएका छन् । जिल्ला ज्ञान केन्द्रका अनुसार जिल्लाका हरिनास गाँउपालिका, कालीगण्डकी गाँउपालिका, बिरुवा गाँउपालिका लगायतका उच्च पहाडी क्षेत्रमा यो आलु फल्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय