काठमाडौँ २९ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गर्नुभएको छ ।
सोमबार नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुुठ र नकारात्मकता फैलाइएको समेत बताउनुभयो । कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको उहाले स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको बताउनुभयो । काँग्रेसका सभापति शेरबहादुर देउवाबाट अध्यादेशको विरोध भयो भन्ने झुुठो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुुपर्नेमा उहाले जोड दिनुभयो । यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासङ्घले पनि भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो ।
अध्यादेशलाई राति राति जारी गर्यो भनेर सम्प्रेषण गरिएको सुनाउँदै उहाँले देश र जनताका पक्षमा आफूहरुले दिन र रात नभनी काम गरेको बताउनुुभयो । सञ्चार क्रियाकलापका नाममा कीर्ते र जाली काम रोक्ने काम गर्न सरकारले कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुुपर्ने र त्यसमा राज्यले भूमिका हुने विश्वास दिलाउनुुभयो । सो अवसरमा महासङ्घका अध्यक्ष निर्मला शर्मासहितका पदाधिकारी र सदस्यलाई प्रधानमन्त्री ओलीले बधाई दिनुुभएको थियो भने महासङ्घका अध्यक्ष र महासचिव रामप्रसाद दाहालले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा ध्यानाकर्षण हस्तान्तरण गर्नुभएको थियो ।