नेपालमा कर तिर्ने संस्कृति छैन : महासचिव पोखरेल

२०८१ फाल्गुन १४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, १४ फागुन । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपालीले राज्यलाई कर तिर्ने बानी कमजोर भएको बताएका छन् ।

नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा भएको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले कर तिर्नेभन्दा नतिर्नेको जमात बढी रहेको बताएका हुन् ।

‘राज्यलाई कर तिर्ने बानी नेपालीको अति कमजोर छ । कर तिर्ने भन्दा कर नतिर्नेको जमात बढी छ, नेपालमा कर तिर्ने संस्कृति नै छैन’, उनले भने ।

पुँजी निर्माणबिना राष्ट्रिय पुँजी नबन्ने बताउँदै उनले नेपालीले बचत संस्कृति विकास गर्नुपर्ने बताए । नेपालीको बचत संस्कृति अति कमजोर भएको उनको धारणा छ ।

महासचिव पोखरेलले विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको बताए । विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको उनको धारणा छ ।

फरक प्रसंगमा पोखरेलले राजनीतिक दल भित्र योगदान कम र अवसरको खोजी बढ्दै गएको पनि बताए । ‘यसले असन्तुष्टि बढ्छ, असन्तुष्टिले अराजकता बढाउँछ, अवसरवाद र अराजकता राजनीतिक आन्दोलनका बाधक हुन्, यी दुई कुरालाई परास्त नगरी हामी अघि बढ्न सक्दैनौँ’, उनले भने ।

नेपालमा काम जति नपढेका मानिसलाई लगाउने र पढेका मानिसहरू ठालु पल्टने संस्कार नै विकास भएको पोखरेलले बताए । ‘काम जति नपढेका मान्छेलाई लगाउने, पढेका जति ठालु पल्टने, अन्त कतै यस्तो हुन्छ ?, के कारणले हाम्रो देश बनेन भन्ने कुरा यसैले पुष्टि गर्छ’, उनले भने ।

कुनै पनि देश छिटो विकास हुनको लागि स्वास्थ्य र शिक्षामा विकास गर्नुपर्ने महासचिव पोखरेलको धारणा छ । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्र निक्कै कमजोर रहेकोले नेपालले स्वास्थ्य र शिक्षामा जोड दिनु पर्ने पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय