काठमाडौं, २१ फागुन । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपाली नागरिकलाई हत्कडी लगाएर काठमाडौं ल्याएको खुलेको छ ।
काठमाडौं ओर्लिएपछि नेपाली अधिकारीहरूले गरेको सोधपुछका क्रममा उनीहरूले आफूहरूलाई हत्कडी लगाएर ल्याएको बताएका हुन् ।
‘अमेरिकाबाट आउँदा हत्कडीसँगै हामीलाई खुट्टामा समेत चेनले बाँधिएको थियो, ट्रान्जिटपछि भने खुट्टाको चेन खोलिदिएको थियो’, डिपोर्ट भएर फर्किएका एक नेपालीले भनेका छन्, ‘त्यसबेला हामीलाई बसेको ठाउँबाट हल्लिन पनि दिएको थिएन, वासरुम प्रयोग गर्न पनि कयौं पटक अनुरोध गर्नुपर्यो ।’
अध्यागमन विभागका अनुसार, अमेरिकामा डोनाल्ड ट्रम्प ४७ औं राष्ट्रपतिमा निर्वाचित भएयता ३५ जना नेपाली नागरिक निष्कासित भइसकेका छन् । तीमध्ये पाँच जना महिला हुन् । सबै जना नियमित उडानमार्फत आएका थिए ।
‘आजै मात्र कमर्सियल फ्लाइटमार्फत अर्का एक नेपाली पनि आएका छन्’, विभागका एक अधिकारीले भने, ‘उनले चाहिँ आफैं स्वदेश फर्किन्छु भनेकाले सामान्य रूपमा फर्काइएको थियो ।’
अधिकृतहरूका अनुसार, हिरासतमा रहेका बेला उनीहरूलाई आफैं स्वदेश फर्किने कि कानून अनुसार प्रतिवाद गर्ने भनेर सोधिएको थियो । जतिले कानून अनुसार प्रतिवाद गर्ने भने उनीहरूलाई हत्कडी र चेनले बाँधेर पठाएको पाइएको ती अधिकृतले बताए ।
ग्रिफान एयरको चार्टर विमानमार्फत ८ जना नेपाली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । त्यसपछि अध्यागमन विभागले उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोमा बुझाएको थियो ।
ब्यूरोले अमेरिकाबाट फर्काइएका नेपालीहरूसँग अहिले बयान लिइरहेको छ । त्यसक्रममा उनीहरूलाई कस्तो अवस्थामा फर्काइएको थियो भनेर समेत सोधिएको छ ।