पाकिस्तानी दूतावासद्वारा २०० नेपाली विद्यार्थीलाई दिइएको छात्रवृत्ति सांसद ढकालद्वारा वितरण

२०८२ असार १२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, १२ असार। पाकिस्तानी दूतावास, नेपालले काठमाडौँस्थित रेडिसन होटलमा आयोजित एक भव्य समारोहमा २०० योग्य नेपाली विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। प्रतिनिधि सभा सदस्य एक नाथ ढकालको प्रमुख उपस्थितिमा सम्पन्न भएको यस कार्यक्रममा, पाकिस्तानी दूतावासका महामहिम राजदूत अब्रार एच. हाश्मी र राजनीतिक तथा शैक्षिक काउन्सलर इकबाल हैदरले पनि सहभागिता रहेकाे थियाे।

समारोहमा प्रमुख अतिथिको रूपमा ढकालले छात्रवृत्ति प्राप्त गर्ने २०० विद्यार्थीलाई सम्मानित गर्दै, शिक्षा क्षेत्रमा दूतावासको योगदानको सराहना गर्नुभयाे । उहाँले नेपाली विद्यार्थिहरूलाई शिक्षा प्रति कसमसाउने र निरन्तर प्रयास गर्न प्रेरित गर्नुभयाे । “तपाईंहरूको शिक्षा, तपाईंको भविष्यको आधार हो, र यसलाई मूल्याङ्कन गर्नुहोस्,” ढकालले आफ्नो सम्बोधनमा भन्नुभयाे।

पाकिस्तानी दूतावासको छात्रवृत्ति कार्यक्रम यस वर्ष १३ औं वर्षमा प्रवेश गरेको छ। यो कार्यक्रम नेपालका विभिन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई आर्थिक सहायता प्रदान गर्दै, उनीहरूको शिक्षा प्राप्तिको मार्गलाई सहज बनाउन केन्द्रित छ। यस वर्षको कार्यक्रमअन्तर्गत २०० जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्।

समारोहमा, ढकालले नेपाली विद्यार्थीहरूको भविष्य निर्माणमा पाकिस्तानी दूतावासको निरन्तर सहयोगको प्रशंसा गर्दै, यस प्रकारका पहलहरू नेपाली युवाको उज्जवल भविष्यका लागि महत्त्वपूर्ण हुने बताउनुभएकाे थियाे।

ढकाल नेपालका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्य हुनुहुन्छ र अन्तरसंसदीय स्पीकर सम्मेलन (ISC) का महासचिवको रूपमा पनि कार्यरत हुनुहुन्छ ।

पाकिस्तानी दूतावासले आफ्नो शिक्षा प्रवर्द्धनका प्रयासलाई निरन्तरता दिँदै, नेपाली विद्यार्थिहरूलाई अधिक अवसर र स्रोतहरूको पहुँचमा पुर्याउँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय