देउवाको उदासिनता रहस्यमय छ: पौडेल

२०७७ चैत्र ३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चैत ३, २०७७, काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको भूमिकाप्रति प्रश्न उठाएका छन्।

महामन्त्री शशांक कोइराला निवासबाट आफूले हालै सभापति देउवालाई फोन गरी माओवादी केन्द्र र जसपाको सहयोग लिएर केपी शर्मा ओली सरकार ढलाउन भने पनि देउवाले उदासिनता देखाएको पौडेलको भनाइ छ।

पोखरामा मंगलबार नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको पूर्णप्रसाद-मायादेवी शान्ति पुरस्कार वितरण समारोहमा बोल्दै नेता पौडेलले भने, ‘हाम्रो सभापतिजीको अहिलेको उदासिनता भन्ने कि के भन्ने रहस्यमय लागिरहेको छ।’

उनले पार्टीलाई ढुलमुले र अनिर्णयको बन्दीजस्तो बनाउन नहुने पनि बताए।

‘हाम्रो पार्टीलाई पनि अनिर्णयको बन्दीजस्तो भन्ने आरोप लाग्न थालिसकेको छ। म त सुरूदेखि नै संसदमा कांग्रेसको सानो संख्या भए पनि राजनीतिमा विशिष्ट भूमिका छ भन्दै आएको छु,’ उनले भने।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रदेश १ र बागमतीमा अविश्वास प्रस्ताव आएको र त्यसैबेला आफूले त्यहाँका सरकार गिराइदिन सभापति देउवालाई भनेको पौडेल बताउँछन्।

‘प्रदेश १ र बागमतीमा अविश्वास प्रस्ताव आयो त्यहीबेलादेखि सरकार गिराइदिऔं भनेको हुँ,’ उनले भने, ‘प्रस्ताव ल्याओ भोट हालेर गिराइदिऔं भनेको हो।’

उनले ढुलमुले नीति लिएर कांग्रेसले दायित्व पूरा गरेको नठहर्ने पनि बताए। दह्रो गरी निर्णय गर्ने र संकटलाई निकास दिनुपर्ने उनको भनाइ छ।

‘जसपा नेतालाई केपी ओलीले जे-जे आश्वासन दिएका छन् त्यो हामीले पूरा गरिदिने र साथ लिएर यो सरकार ढलाइदिऔं भनेर मैले सभापतिजीलाई पदाधिकारी बैठक बसेको दिन फोन गरेर भनेको हुँ,’ पौडेलले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार