विपद् व्यवस्थापनकाे पूर्व तयारीमा जुट्याे गल्याङ

२०८२ असार ३२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल
स्याङ्जा,३२ असार । जलवायु परिवर्तनका असरहरू गाउँ–सहर सबै क्षेत्रमा गहिरिँदै गएको सन्दर्भमा त्यसको व्यवस्थापन र अनुकूलनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुँदै गएको छ । यसै विषयलाई प्राथमिकतामा राख्दै गल्याङ नगरपालिकामा नगरस्तरीय वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको समिक्षात्मक बैठक मंगलबार सम्पन्न गरिएको छ ।

गल्याङ नगरपालिकाको आयोजना, द-एशिया फाउन्डेसनको आर्थिक सहयोग र आपसी सहयोग केन्द्र नेपाल स्याङ्जाको समन्वयमा सम्पन्न उक्त बैठक नगर प्रमुख तथा समिति संयोजक गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा आस्क नेपालका कार्यक्रम तथा साझेदारी विकास निर्देशक हरि ढकालले चालु आर्थिक वर्ष भित्र गल्याङ र वालिङ नगरपालिकामा सञ्चालन भएका प्रमुख गतिविधिहरू समेटिएको समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तिवेदनमा ४ वटा अन्तरक्रिया कार्यक्रम, KII (Key Informant Interview), ३ वटा GEDSI सिद्धान्त समेटिएका तालिम मोड्युल विकास, २ वटा तालिमबाट ६५ जनाको क्षमता अभिवृद्धि, ५ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम मार्फत २८ जना सामुदायिक साक्षरताकर्ता तयार, २५ वडास्तरीय विपद् समितिको पुनर्गठन, १९ वटा स्वास्थ्य संस्था व्यवस्थापन समितिको क्षमता विकास, १४५ टोलमा जलवायु सचेतना शिविर सञ्चालन, ३,९४५ नागरिकको प्रत्यक्ष सहभागिता र समुदायमै स्रोत सामग्री वितरण लगायतका कार्यहरूको विवरण प्रस्तुत गरिएको थियो ।

उक्त बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख गुरु प्रसाद भट्टराईले जलवायु परिवर्तन अब टाढाको कुरा नभई समुदायले प्रत्यक्ष भोगिरहेको यथार्थ भएकाले यसका असर न्यूनीकरण र अनुकूलनका नीति, योजना र कार्यक्रमहरू स्थानीय तहबाटै प्रभावकारी रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले गल्याङ नगरपालिकाले यस विषयमा सरोकारवाला संस्थाहरूको सहकार्यमा कार्य गर्दै आएको र आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा द एशिया फाउन्डेसन गण्डकी प्रदेश संयोजक पूर्ण परियार, आस्क नेपाल अध्यक्ष रुकुमदत्त शर्मा पौडेल, विपत व्यवस्थापन समितिका फोकल पर्सन थानापति शर्मा, आस्क नेपालका कर्मचारीहरु, नगरपालिकाका वडा अध्यक्षहरू, शाखा प्रमुखहरू, सुरक्षा निकाय, सञ्चारकर्मी, नागरिक समाजका अगुवा लगायतको उपस्थिति रहेको थियो । बैठकले परियोजनाको सफल कार्यान्वयन, अपनत्व र समन्वयप्रति सबै पक्षको भूमिका अपरिहार्य रहेको निष्कर्ष निकाल्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता सहित समापन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय