प्रकाश डोटेल
स्याङ्जा, १० साउन । स्याङ्जामा आर्थिक वर्ष २०८१/०८२ मा झण्डै २६ करोडको लागतमा सिँचाई र नदि नियन्त्रण अर्थात तटबन्धन निर्माण गरिएको छ । जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले २५ करोड ५० लाखको लागतमा सिँचाई र तटबन्धन निर्माणको काम गरेको हो ।
कार्यालयको पुँजीगत कुल २७ करोड ९९ लाख ९ हजार बजेटमा ९१ दशमलब १० प्रतिशतले हुने २५ करोड ५० लाखको लागतमा सिँचाई र तटबन्धनको काम गरेको छ । प्रदेशको पुँजीगत १३ करोड ९४ लाख ७८ हजार, संघीय सरकारको सशर्त ५ करोड ६२ लाख ६३ हजार र बिशेष अनुदान तर्फको ६ करोड ४९ लाख ८२ हजारको लागतमा सिँचाई तथा तटबन्धनको काम भएको छ ।


उक्त बजेटबाट सिँचाई तर्फ झण्डै २७ किलोमिटर पक्की नहर र करिब ५ किलोमिटर पाईप लाईनको मर्मतसम्भार गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोहि शिर्षकमा १७ वटा कुलो तथा कुलोको मुहान र ६२ वटा सिँचाईका अन्य संचारनाको निर्माण तथा मर्मत गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ मा २ सय ७५ हेक्टर जमिनमा पु¥याएको सिँचाई सुविधालाई दिगो र टिकाउ बनाएको कार्यालय प्रमुख किरण आचार्यले बताउनुभयाे । ‘कृषक कुलो सुधारबाट १ सय ९४, पुर्नस्थापना, सुधार र संरचना नविकरणबाट ८१ गरी २ सय ७५ हेक्टर जमिनमा सिँचाई पु¥याएका छौं ।’ प्रमुख आचार्य भन्नुभयाे, ‘नयाँ बनेका संरचना र मर्मत भएका योजनाहरु दिगो र टिकाउ छन् ।’
सिँचाई कार्यालयले गएको वर्ष ड्याम सहित झण्डै २९ सय २० मिटर लम्बाईको पक्की तटबन्धन, करिब ५ सय मिटर तारजाली सहितको पर्खाल (ग्याबिन वाल) र ६ वटा तटबन्धनका अन्य संरचना निर्माण गरेको छ । कार्यालयले ७ सय ३२ तारजालीको प्रयोगबाट नदी नियन्त्रणसँगै विपद्बाट क्षतिग्रस्त संरचना र भूक्षय नियन्त्रण र रोकथाममा योगदान पु¥याएको छ ।
विशेष गरी फेदीखोलामा ४, आँधीखोलामा ९, पुतलीबजारमा १६, भीरकोटमा ६, वालिङमा १४, गल्याङ् ८, अर्जुनचौपारीमा ६ र कालिगण्डकीमा ३ वटा योजनाबाट दरौ, आँधीखोला तटबन्धन र सिँचाई सुविधा विस्तारमा झण्डै १५ करोड खर्च गरिएको छ भने उता बिरुवामा २, हरिनासमा ४ र चापाकोटमा ११ योजनाबाट ज्यादीखोलाको नियन्त्रणलाई प्रथामिकता राखेर सिँचाई सुविधा दिगो र भरपर्दो बनाउन १० करोडको हाराहारीमा रकम खर्च गरेको कार्यालयले जनाएको छ ।
कार्यालयबाट संचालित अधिकांश योजनाहरु बहुवर्षिय छन् भने धेरै योजनाहरु उपभोक्ता समितिबाटै निर्माण गरिन्छ । ठूला र नगन्य आधा दर्जन योजनाहरु मात्रै टेण्डरबाट निर्माण भएको जानकारी दिदै कार्यालयका सूचना अधिकारी सुनिल के.सी.ले गएको वर्ष जिल्लामा समिति र ठेक्कपट्टाबाट झण्डै ९० वटा योजनाहरुको निर्माण तथा मर्मत भएको जनाउनुभयाे ।
जिल्लामा नहर तथा कुलोबाट करिब १० हजार र खहरेखोला, मौसमी वर्षातबाट झण्डै ६ हजार हेक्टर खेती योग्य जमिनमा सिँचाई हुने सरकारी तथ्याङ्क छ । सिँचाईका लागि नहर, कुलो निर्माण तथा सिञ्चित जमिनको क्षेत्रफल बढ्दै गएपनि खेती योग्य भूभाग खुम्चदै गएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७७/०७८ मा १६ हजार ८ सय ३० हेक्टर जमिन भएकोमा ४ वर्षको अन्तरमा पछिल्लो वर्ष १४ हजार हेक्टर मात्रै खेती योग्य जमिन रहेको तथ्याङ्कले देखाउँछ ।