एमसिसीलाई तत्काल सैद्धान्तिक छलफल नल्याउन आग्रह

२०७८ फाल्गुन १२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १२ फागुन । सत्ता गठबन्धनमा संलग्न नेकपा (माओवादी केन्द्र)र एकीकृत नेकपा(समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई अनुमोदन गर्ने प्रस्तावबारे तत्काल सैद्धान्तिक छलफल नगर्न आग्रह गरेको छ ।

सो प्रस्तावमा आज सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकामा राजनीतिक दलमा सहमति नभएको र प्रमुख प्रतिपक्षी नेकपा एमाले ले सदनमा अवरोध जारी राखेको अवस्थामा यसलाई अघि नबढाउन ती दुबै दलले आग्रह गरेको हो । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले भने नियमितरुपमा छलफलको प्रक्रिया अघि बढाउन अडान लिएको छ । विवादका कारण दिउँसो १ बजेका लागि तोकिएको बैठक १ः५० बजेसम्म सुरु हुन सकेको छैन । एमालेले आफ्ना माग पूरा नभएको जनाउँदै कार्यव्यवस्थाको बैठक बहिष्कार गर्दै आएको छ ।

सो छलफललाई अघि बढाउने वा नबढाउने भन्नेबारेमा माओवादी केन्द्रले पार्टीभित्र छलफल गर्ने जनाइएको छ । एमालेका नेता डा भीमबहादुर रावलले आजको बैठक बस्ने सम्भावना नरहेको बताउनुभयो । उहाँले सडकमा विरोधकाबीच सो प्रस्तावलाई अघि बढाउन र सत्ताका लागि राष्ट्रियताका सवालमा सम्झौता गर्न नहुने बताउनुभयो । सो सम्झौता यही फागुन ८ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो । सो सम्झौतालाई यही फागुन १६ गतेभित्र अनुमोदन हुने–नहुने निधो गर्न अमेरिका सरकारले समयसीमा दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार