स्याङ्जा, २ जेठ । स्याङ्जाको भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गोविन्दकुमार कर्मचार्य विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका विश्वनाथ अर्याललाई पराजित गर्दै विजयी हुनुभएको हो ।
कर्मचार्यले ६ हजार ५०४ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रति द्वन्दी नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार बन्नुभएका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल विजयी हुनुभएको छ ।
अर्यालले ७ हजार १७९ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी अधिकारीले ४ हजार ८९८ मत प्राप्त गर्नुभएको छ ।
नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ गरी आठ वटा वडामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् भने वडा नं ६ मा नेकपा एमाले विजयी भएको छ ।
भीरकोट नगरपालिकामा निर्वाचित ४७ सिटमध्ये वडा नं ६ को वडा अध्यक्षबाहेक सम्पूर्ण सीटमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारहरु विजयी हुनुभएको छ ।
भीरकोट नगरपालिकामा २० हजार ४२७ जना मतदाता रहेकोमा १३ हजार १३ जनाले मतदान गरेका थिए ।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको थियो ।