भैरहवा, ७ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरल र सहज सेवा दिन यहि जेठ महिनाभित्रै वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
भैरहवामा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालयका साथै, म्यानपावर कम्पनिका शाखा, अभिमुखिकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि जेठभित्रै संचालन गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी सहित सरोकारवलाहरुले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सवै प्रकृया भैरहवाबाटै पुरा हुनुपर्ने माग गरेका थिए । मन्त्री श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रमिक सहायता कक्षको पनि अवलोकन गर्नुभएको थियो ।


विमानस्थलमा श्रमिकका लागि छुट्टै प्रवेशद्वार नराखि सम्मानजनक व्यवहार गर्न मन्त्री श्रेष्ठले विमानस्थल प्रशासनलाई निर्देशन दिनुभएको थियो । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुंदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरल र सहज सेवा दिन गर्नुपर्ने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठ सहितको टोली शुक्रबार भैरहवा आएको हो ।