मेलम्ची पानी प्रशोधन केन्द्रमा भट्टराईको शालिक शिलान्यास, उहाँकाे जीवनी र शिक्षाप्रद र प्रेरणाको स्रोत हो : मन्त्री चौधरी

२०७९ असार २७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

काठमाडौं ,२७ असार । खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको जीवनशैली शिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताउनु भएको छ ।

मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजल क्षेत्रमा निर्माण हुन लागेको पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिकको सोमबार शिलान्यास गर्दै मन्त्री चौधरीले खानेपानीको समस्यामा परेका काठमाडौबासीलाई मेलम्चीको पानी ल्याउने सपना सरकारले पुरा गर्ने बताउनु भएको हो । खानेपानी मन्त्री चौधरीले २ पटकसम्म प्रधानमन्त्री हुनु भएका स्वर्गीय कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री निवासबाट आफ्नो सम्पतिको रुपमा टिनको बाकस, सुराही र छाता मात्र लिएर निस्किएको भन्दै उनी जस्ता त्यागी राजनेता पाउन कठिन भएको बताउनु भयो ।

काठमाडौंको प्रत्येक घरमा मेलम्चीको पानी खुवाउने किशुनजीको सपना पुरा गर्न सरकारले कुनै कसर बाँकी नराखेको भन्दै उनले भट्टराईको शालिकको उद्घाटन वर्तमान सरकरकै पालामा हुने बताउनु भयो । उहाँले एसियाली बिकास बैंकको प्रारम्भिक रिपोर्ट आएको र बिस्तृत रिपोर्ट आए बमोजिम सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानीको हेडवक्र्स क्षेत्रको मर्मत सम्भार गरी स्थायी रुपमा मेलम्चीको पानी काठमाडौं पथान्तरण गरिने बताउनु भयो । उहाँले मेलम्चीको बिकल्पमा बागमतिबाटै थप पाँच करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सिस्नेरीबाट करिव १५ करोड लिटर पानी काठमाडौं ल्याईने बताउनु भयो ।

प्रतिनिधिसभाबाट खानेपानी तथा सरसफाई सम्वन्धी विधेयक पारित भइसकेको जनाउँदै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंबासीको घर घरमा पुर्याएको खण्डमा पूर्वप्रधानमन्त्री स्वर्गीय भट्टराईको सपना पुरा हुने बताउनु भयो । पूर्वरक्षामन्त्री भिमसेनदास प्रधानले स्वर्गीय कृष्णप्रसाद भट्टराई स्वच्छ छविको निष्कलंक र सन्त नेता भएको जनाउँदै मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने सपना पुरा गर्न लागेकोमा मन्त्री र सरकारलाई धन्यबाद दिनु भयो । कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका महासचिव बिनोद भट्टराईले प्रधानमन्त्री भइसक्दा पनि बालुवाटारबाट निस्कँदा आफ्नो निजी सम्पतको रुपमा सुराही, छाता र टिनको बाकस मात्र लिएर जानु भएको बताउनु भयो । नीजि सम्पती आर्जनमा कहिल्यै ध्यान नदिने भट्टराई इमान्दारिताको प्रतिमुर्ती भएको बताउनु भयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले किसुनजीको योगदान र पहिचान झल्किने गरी पूर्णकदको शालिक निर्माण गर्न सुझाव दिँदै नगरपालिकाले किसुनजीको शालिक र पार्क क्षेत्रको संचालन र संरक्षण गर्ने बताउनु भयो । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले किसुनजी सुशासनको प्रतिमुर्ती भएको जनाउँदै जनस्तरबाटै आलोचना र बिरोध नखेपेका नेपालका एक मात्र प्रधानमन्त्री भएको दाबी गर्नु भयो । उहाँले किसुनजी जस्ता त्यागी नेतालाई सम्झिएकोमा खानेपानी मन्त्री र मन्त्रालयप्रति आभार ब्यक्त गर्नु भयो । कांग्रेस काठमाडौंका सचिव दिपक पुडासैनीले मेलम्चीको पानी काठमाडौं ल्याएर सडक पखाल्ने योजना सुनाउँदा मन्त्री विरोधीले अनेक आलोचना गर्ने गरेको तर आज किसुनजीको सपना पुरा भएको बताउनु भयो ।खानेपानी मन्त्रालयका सचिव मणीराम गेलालले किसुनजीको शालिकसहितको पार्क निर्माण हुने भन्दै मन्त्री परिषद्ले गरेको निर्णय बमोजिम जिम्मेवारी पुरा गर्न मन्त्रालय तयार भएको बताउनु भयो । मेलम्ची खानेपानी विकास समितिको एक करोड रुपैयाँ बढीको लागतमा निर्माण गरिने शालिक सहितको पार्क निर्माण यही मंसिरसम्म गरिसक्ने लक्ष्य रहेको छ ।

मेलम्ची र किसुनजीबीचको सम्वन्ध
काठमाडौं उपत्यकामा खानेपानीको अभावका कारण माग बढ्दै गएको सन्दर्भमा २०४६ सालको सफल जनआन्दोलनपछि २०४७ सालमा निर्माण भएको अन्तरिम सरकारका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्ण प्रसाद भट्टराईले सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी काठमाडौंबासीको उपयोगको लागि ल्याउने महत्वकांक्षी योजना घोषणा गर्नु भएको थियो । मेलम्चीको पानी काठमाडौंमा ल्याउनको लागि परियोजनाले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा पर्ने मेलम्ची नदीको रिबर्मा भन्ने ठाउँ नजिक मुहान (हेडवक्र्सं) निर्माण गरी २६ किलोमिटर लामो सुरुङ निर्माण गरी दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा भित्र्याउने उदेश्य थियो ।

यसअघि सन् १९८८ मा बिन्नी एण्ड पार्टनर्स नामक बेलायती संस्थाले उपत्यका र वाहिरका २० वटा सतहगत सम्भाव्य पानीको स्रोत अध्ययन गर्दा मेलम्ची नदिको उपयोगलाई सबैभन्दा उत्तम सम्भाव्य स्रोतको रुपमा पहिचान गरेको थियो । तत्कालिन प्रधानमन्त्री भट्टराईको महत्वकांक्षीय घोषणा पछि सन् १९९२ मा अष्ट्रेलियाको स्मेक कन्सल्टेण्टले मेलम्ची नदि डाइभर्सन स्कीमको अध्ययन गरी ग्राभिटी सिस्टमका आधारमा मेलम्ची नदीसहित लाङटाङ नदी पम्पिङको आधारमा इन्दावती, त्रिसुली, कुलेखानीसहित अन्य खोला तथा नदीको अधययनले मेलम्चीलाई नै सबैभन्दा उत्तम ठहर गरेको थियो । सोही अध्ययनको आधारमा एडिबीको संयोजकत्वमा नर्वेजियन बिका संस्था (नोराड), स्विडिस विकास संस्था –(सिडा), जापानी संस्था –(जेविक) र विश्व बैंकले मेलम्ची खानेपानी आयोजना कार्यान्वयनको लागि बृस्तृत अध्ययन गरेको थियो । तत्पश्चात, नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भएपछि २०५६ सालमा (सन् १९९८ अगस्टमा) तत्कालिन आवास तथा भोति योजना मन्त्रालय मातहत रहने गरी मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो ।

त्यसलगत्तै (सन् १९९९) विश्व बैंक र नरप्लानको सहयोगमा मेलम्ची आयोजनाको सम्भाव्यता अध्ययन र सोही अध्ययनको आधारमा सन् २००१ मा एसियाली विकास बंैंकले आयोजनामा लगानी गर्न सहमत भएपछि एक सय २० मिलियन डलर बराबरको ऋण सम्झौता स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना विधिवत रुपमा शुरु भएको हो । मेलम्ची खानेपानी आयोजनाको अर्को मुख्य संरचनामा पानी प्रशोधन केन्द्रको निर्माण जापान सरकारको जाइका संस्थामार्फत सुन्दरीजलस्थित यो महाँकाल फाँटमा दुई सय ३८ रोपनी जग्गामा पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ ।

मेलम्चीको पानी २०७७ फागुन २२ गते हतारमा काठमाडौं पथान्तरण गरीएको थियो भने सोही वर्षको चैत २० गते उपत्यकामाका धारामा मेलम्चीको पानी छाडिएको थियो । मेलम्चीको हेडवक्र्समा गत वर्ष असार १ गते आएको बाढीले हेडवक्र्स क्षेत्रसहित अन्य संरचनामा क्षति पुर्याको थियो । त्यसपछि सरकारले क्षतिग्रस्त आयोजनाको पुनःनिर्माण गरी २०७८ साल चैतमा मेलम्चीको पानी काठमाडौमा पथान्तरण गर्न सफल भएको थियो । हेडवक्र्स क्षेत्रमा सम्भावित वाढीको कारण कुनै क्षति नहोस भन्ने मनसायले सरकारले गत जेठ दोश्रो साता सुरुङको ढोका बन्द गरी काठमाडौंमा पानी पथान्तरण कार्यलाई स्थगित गरेको कुरा यहाँहरुलाई अवगत नै छ । सरकारले बर्षातको समय समाप्त हुनासाथ मेलम्चीको पानी पुन काठमाडौं तर्फ पथान्तर गर्ने विश्वास दिलाउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार