स्याङ्जामा जेठ १५ सम्म निषेधाज्ञा

२०७८ बैशाख ३०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दिवस भण्डारी 

३० वैशाख स्याङ्जा ।  स्याङ्जामा आउँदो जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई जेठ १५ सम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गरिने भएको छ । बैकिङ्ग सेवा बन्द भएपनि एटिएम सेवा भने सुचारु राखिने छ । थप गरिएको निषेधाज्ञालाई कडाईका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।

यसअघिको निषेधाज्ञामा बिहान ५ बजेदेखि ९ र साँझ ५ देखि ७ बजेसम्म खाद्यान्नजन्य सामग्री खरिदको गर्न सकिने समय तोकिएको थियो । बैशाख २१ देखि ३१ गतेसम्म जारी भएको निषेधाज्ञा संक्रमणको दर बढ्दो रुपले जान थालेपछि प्रशासनले थप कडाइका साथ जेठ १५ सम्म थपेको हो । कोरोनाको दोस्रो लहर चलेसँगै जिल्लामा हालसम्म १४ पुरुष र ६ महिला सहित २० जनाले ज्यान गुमाए भने ६ सय २८ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय