गल्याङको मालुङ्गामा सिलाई कटाई र पार्लर तालिम सम्पन्न

२०७८ कार्तिक १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल 

गल्याङ, १६ कार्तिक। स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गामा सिलाई कटाई र पार्लर तालिम समापन तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गएको साउन ४ गते सुरु भएको तालिमको आज मंगलबार समापन गरिएको हो ।

तामिलको समापनको अवसरमा गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले स्वरोजगार र उद्यमी बन्नका लागि नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले कुनै पनि तालिम लिए पछि त्यसको सदुपयोग हुनुपर्नेमा जोड दिँदै यस तालिमबाट आत्मनिर्भर र उद्यमी बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘उद्यमी बनेर अगाडि बढ्नुस्, नगरपालिकाले बजारको ग्यारेन्टी गर्छ ।’उहाँले महिलाहरूले तालिम लिएर आत्मनिर्भर बन्न सकेमा घरेलु हिंसा समेत कमी हुने बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थाले व्याजमा सस्तो गरी उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै नगरप्रमुख अधिकारीले सस्तो ऋणका लागि पनि आफुले सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।  महिला, असक्त र विपन्न परिवारका लागि आफु सधैं सहयोगी बनेको भन्दै उहाँले त्यसमा आवश्यकता अनुसार सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले तालिमको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले तालिम लिएर घरमा बसेमा सरकारको लगानी बालुवामा पानी बराबर हुने भन्दै यसलाई सही रूपमा सदुपयोग गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका गल्याङ नगरपालिका आर्थिक विकास शाखा सुशील अर्यालले तालिम प्राप्त गर्नु नै अवसर भएको भन्दै यसलाई अब व्यवहारमा लैजान आग्रह गर्नुभयो । कार्यक्रममा गल्याङ नगरपालिका १ का वडाअध्यक्ष तथा नगर प्रवक्ता गणेशप्रसाद बस्याल, वडा नम्बर २ का अध्यक्ष इबप्रसाद कर्माचार्य लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा नम्बर १ का सचिव मनिराम भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय