गुटबन्दी अन्त्य गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

२०७८ पुष १६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दमौली, १६ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस तनहुँको आज आयोजित पदस्थापन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कांग्रेसमा गुटबन्दी मौलाउँदै गएकाले यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।

देशैभर गुटले प्रश्रय पाएको बताउँदै वरिष्ठ नेता पौडेलले गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुने धारणा राख्नुभयो । “गुट बलियो बनाउने होइन, पार्टी बलियो बनाउनुपर्छ, त्यसतर्फ सबै लागौँ”, उहाँले भन्नुभयो । १४औँ महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत नभएपछि आफू उम्मेदवार नबनेको बताउँदै पौडेलले तटस्थ भूमिकामा बसेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले बीपीको विचार र सिद्धान्तलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । “बीपीको विचार र सिद्धान्त कांग्रेसले भुल्दै गएको छ, बीपीको विचारलाई अनुसरण गर्न सक्नुपर्छ”, पौडेलले भन्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीलाई एकढिक्का बनाउन आवश्यक रहेको बताउँदै विगतका कमीकमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा कांग्रेसको १४औँ महाधिवेशनका क्रममा जिल्ला अधिवेशनबाट निर्वाचित सभापति जितप्रकाश आलेलाई निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले पद हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार