राष्ट्रिय सभाको सदस्यमा निर्वाचित स्याङ्जाका कृष्णप्रसाद पौडेल को हुन् ?

२०७८ माघ १३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा १३ माघ । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी हुनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमालें) बाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी हुनुभएको छ ।

निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) का उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की पनि निर्वाचित हुनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदय बोहरा र मदनकुमार शाह (गरिमा) निर्वाचित हुनुभएको हो । जनता (समाजवादी पार्टी नेपाल) का उम्मेदवार महम्मद खालिद र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा पनि आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गरी निर्वाचित हुन सफल हुनुभएको छ । उहाँहरू आगामी छ वर्षे कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

स्याङ्जामा जन्मेर राष्ट्रिय सभाको सदस्यमा निर्वाचित कृष्णप्रसाद पौडेल को हुन् ?

५ दलको गठबन्धनको काँग्रेसबाट बागमती प्रदेशबाट उमेदवार बनेर राष्ट्रिय सभाको सदस्यमा निर्वाचित हुनुभएका कृष्णप्रसाद पौडेलको जन्म स्याङ्जामा भएको हो । भीरकोट नगरपालिका २ (साबिक दार्सिङ दहथुम गाविस) मा २०१७ सालमा उहाँको जन्म भएको हो । पिता गुरुप्रसाद र माता खुमकुमारी पौडेलको कोखबाट जन्मनुभएका पौडेल स्याङ्जाबाट विद्यार्थी राजनीतिक यात्रा प्रारम्भ गरी काठमाण्डौ बस्दै आउनुभएको छ । पाटी सभापति शेरबहादुर देउवा नजिक रहनुभएका पौडेल २०७२ सालमा देउवा सभापतिमा निर्वाचित भएपछि नेपाली काँग्रेसको मुख्य सचिवमा नियुक्ति हुनुभएको थियो । उहाँ हाल सम्म पनि मुख्य सचिव हुनुहुन्छ ।

सानै देखी क्रान्तिकारी अन्याय, अत्याचार विरुद्ध खरो उत्रने स्वाभावका पौडेलले ४७९४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिदन्दी गोपाल शाक्यले ४३४४ मत प्राप्त गर्नुभएको थियो । ४ सय ५० मतको अन्तरले शाक्यलाई पराजित गर्दै पौडेल राष्ट्रिय सभाको सदस्यमा निवार्चित हुनुभएको हो । २०३२ सालबाट विद्यार्थी राजनीतिक यात्रा प्रारम्भ गरेका पौडेल बहुदलीय व्यवस्थाको प्रचारप्रसारको क्रममा २०३६ सालमा विपी कोइराला स्याङ्जा आउदा आन्दोलनमा घाइते हुनुभएको थियो । विपी कोइरालालाई नजिकबाट चिन्नुभएका पौडेलले दहथुम माविमा अध्ययन गर्दै गर्दा नेविसंघ हुदै काँग्रेसको राजनीतिमा आउनु भएको थियो । नेपाल शिक्षक संघ काठमाण्डौंको संस्थापक अध्यक्ष, २०३८ सालमा, पिपुल्स क्याम्पसको स्ववियु सभापति, २०७२ सालबाट हाल सम्म काग्रेसको मुख्य सचिव भएर काम गर्दै आउनुभएको छ । व्यवस्थापन संकायमा एमए सम्मको अध्ययन पुरा गरी विद्यावारिधीको तयारीमा रहनु भएका पौडेल काठमाण्डौ स्थित् विष्णुमती कलेजका संचालक, प्रमुख हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार