हराएका मोटरसाइकल फेला पारी बुझाइयो

२०७८ माघ २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २७ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ सवारी साधन(मोटरसाइकल)फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

महाशाखामा आज एक समारोहका बीच १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो । ती मोटरसाइकल काठमाडौँ उपत्यकाको व्यस्त बजार तथा चक्रपथ आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको निवेदनका आधारमा टोली परिचालन गरी मोटरसाइकलको खोजी गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गर्नुभएको हो ।मोटरसाइकल चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य भइरहेको पनि उहाँले बताउनुभयो । स्वयं सवारी धनी पनि विशेष चनाखो र सजक हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले सवारी चालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्क गर्न र अतिरिक्त लक तथा सुरक्षाका उपाय प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।

महाशाखामा यस आर्थिक वर्षमा ८३१ वटा मोटरसाइकल हराएको निवेदन परेकामध्ये ३०९ वटा मोटरसाइकल फेला परेको जनाइएको छ । तीमध्ये २४४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । प्रहरीले विभिन्न स्थानबाट २८ वटा चोरीका मोटरसाइकलसहित चोरीमा संलग्न ३८ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विभिन्न प्रहरी वृत्तमा पठाइएको महशाखाले जनाएको छ । उपत्यकाबाट हराएका १३ वटा मोटरसाइकल उपत्यका बाहिरका विभिन्न जिल्लाबाट नियन्त्रणमा लिई सम्बन्धित धनीलाई बुझाइएको महाशाखाले जनाएको छ । मोटरसाइकल चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन पीडित सहायता एकाइबाट सादा पोसाकमा थप ट्राफिक प्रहरीसमेत परिचालन गरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार