आगलागीबाट पाँच जनाको मृत्यु

२०७८ माघ २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दाङ २८ माघ । तुलसीपुरको एक घरमा गए राति भएको आगलागीबाट निसास्सिएर पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर–उपमहानगरपालिका–५ का १४ वर्षीया साजिता खातुन, १४ वर्षीय हसन बकस, १६ वर्षीय मसिन बकस, ४० वर्षीय नअरदिन अली र ६ वर्षीय आविददिन अलि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।तुलसीपुर–५ ‘ङ’ लाइनस्थित चप्पल गोदाममा आज बिहान २ बजे आगलागी भएको हो । आगलागीलगत्तै उद्धार गरिएता पनि आगो नियन्त्रण बाहिर गएकाले निसास्सिएर मृत्यु भएको हो । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । तीमध्ये घरको तेस्रो तलाबाट तीन र चौथो तलाबाट दुई जनालाई निकालिएको हो । पाँचै जनाको निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ । इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको थियो । विद्युत्को मिटर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

पहिलो तलाबाट आगलागी सुरु भएको र तेस्रो तला तथा दोस्रो तलामा सुतेका उनीहरुलाई आगो नियन्त्रणभन्दा बाहिर गएकाले उद्धार गर्न नसकेको बताइएको हो । अहिले पाँचै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी, जनप्रतिनधिलगायत रातिदेखि उद्धारमा खटिए पनि आगो नियन्त्रण आउन नसक्दा मानवीय क्षति हुन पुगेको हो ।यसैबीच पाँच जनाको निसास्सिएर मृत्यु भएपछि तुलसीपुर बजार शोकमा डुबेको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज शोकमा एक दिन बजार बन्द गर्ने निर्णय गरेको सङ्घका महासचिव विनिल केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार