गल्याङमा मेयरको चर्चा, को बन्ला अबको प्रमुख

२०७८ माघ २९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 6 मिनेट

गल्याङ २९ माघ । बैशाख ३० मा हुन लागेको स्थानियतहको चुनावले यतिबेला गाउँ देखि केन्द्रसम्म माहोल तातेको देखिन्छ । देशभर एकैपटक हुन लागेको ७५३ स्थानीयतहको चुनावले नेता कार्यकर्ता देखि आम सर्वसाधारणमा एक प्रकारको जिज्ञासा पैदा गरेको छ । विगतमा नेतृत्व लिन सफल नभएका नेता कार्यकर्तालाई यस पटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ भने नेतृत्व पाइसकेका राजनीतिक दलले आफ्नो निरन्तरताको लागि पाँच बर्षमा गरेका काम कारबाहीको समिक्षा गर्दै आगामी दिन पुन नेतृत्वमा पुग्ने रणनीति बुनेको देखिन्छ । कतिपय स्थानीयतहमा राजनीति दलको हावीले आजित बनेका जनता भने अबको नेतृत्वले साच्चिकै हाम्रो हितमा काम गर्ला भन्ने दोधारमा परेको पाइन्छ । जनप्रतिनिधिको अख्तियरको दुरुपयोगबाट आजित बनेका जनता ती जनप्रतिनिधिलाई बिदाइ गर्न पाउदा खुसी देखिन्छन् भने साच्चिकै जनताको सेवामा खटिएका जनप्रतिनिधिलाई नेतृत्वबाट हटाएर कस्तो नेतृत्व आउने भन्ने त्राश पनि जनतामा भेटिन्छ ।

हाल नेताका घरदेखि टोलका चोक चोकमा निकै बहस हुने गरेको स्थानीयतहको निर्वाचनको बहस गल्याङ नगरपालिका भित्रका चोक गल्लीमा पनि व्यापक भएको पाइन्छ । व्यावसायीले सहि नेतृत्व छान्न सके ब्यापार गर्न सजिलो हुने तिर बहस गरेकाे देखिन्छ भने किसानलाई किसान मैत्री नेतृत्व आए साच्चिकै किसानका समस्य बुझ्ने थिए भन्ने लागेको पाइन्छ भने बौद्धिक बर्गमा केन्द्रिय नेतृत्वसंग पहुँच पुर्याउन सक्ने नगरप्रमुख भए धेरै बजेट उपलब्ध गराएर समग्र नगरको विकास गर्न सक्ने नेतृत्वको खोजिमा रहेको देखिन्छ ।

११ वडा भएको गल्याङ पालिकामा यस अघिको चुनावमा नेपाली काङ्ग्रेसलाई करिब २२ सय मतले पछि पर्दै नेकपा एमालेले नेतृत्व हत्याएको पाइन्छ । यस अघिको चुनाव ११ वडा मध्य मात्रै ४ वडामा सिमित हुन पुगेको काङ्ग्रेसलाई जसरी पनि नेतृत्वमा पुग्नु छ भने एमालेलाई पुनः बिजय हुनुपर्ने बाध्यता देखिन्छ । नेपाली काङ्ग्रेस र नेकपा एमाले नेतृत्व हत्याउने रणनीतिमा लागेको भएपनि अन्य राजनीतिका नेतृत्व पनि पर्खर र हेरको अवस्थामा रहेको पाइन्छ । सम्मानजनक ढंगले ठुला भनिएका राजनीतिक दलहरु बार्गेनिङ गरेर अन्य पदमा सिमित हुने अथवा सानै दल भएपनि मेयरको बाक्सा थापेर आफ्नो उपस्थिति जनाउने भन्ने रणनीतिमा लागेको देखिन्छ ।

मेयरको लागि हालसम्म चर्चामा रहेका दल र ब्याक्तीहरु

नेपाली काङ्ग्रेस

श्याम प्रसाद बस्याल

साबिक जगत्रदेवि गाविसको नेपाली काङ्ग्रेसको सभापति हुँदै, साबिक निर्वाचन क्षेत्र नम्बर ३ कोषाध्यक्ष हुँदै महासमिति सदस्य देखि काङ्ग्रेसका धेरै केन्द्रिय विभागमा समेत रहेर अनुभव बटुल्नु भएका श्याम प्रसाद बस्याल गल्याङ नगरपालिकाको मेयरको लागि निकै चर्चामा देखिनुहुन्छ । हालै सम्पन्न नेपाली काङ्ग्रेस महाधिवेशनबाट गल्याङ नगर सभापतिमा भारी मतका साथ बिजय बस्याल यो क्षेत्रको सफल ब्यबसायीको रुपमा पनि चिनिनु हुन्छ । सानैदेखि गल्याङ केन्द्रित राजनीति संगै ब्यबसाय संचालन गरेर स्थानीयहरुको सुखदुःखको सारथि बन्नुभएका बस्यालले स्याङ्जा जिल्ला वासीलाई आर्थिक रुपमा समृद्धि गराउन गरिमा विकास बैंक स्थापना गरि यहाँको आर्थिक अवस्था माथी उठाउन खोजेको देखिन्छ । गल्याङ नगर भित्रका प्राय सबै सामाजिक क्षेत्रमा सक्रिय संघसस्थामा बसेर जनताका लोकप्रियता बटुल्नुभएका बस्याल हाल राजनीति संगै गरिमा विकासको बैंकको अध्यक्ष पनि हुनुहुन्छ । गल्याङमा पैसा कमाउन साथ पलाएन हुने गरेको इतिहासलाई तोड्दै त्यहीँ क्षेत्र बनाउन लागि पर्नुभएका बस्यालकाे मेयरमा सम्भावना बलियो रहेको देखिन्छ ।

महेश भट्टराई

ब्यबसाय संगै राजनीतिमा लाग्नुभएका महेस भट्टराई गल्याङ नगरपालिका ३ का निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । नगरपालिकाको कार्यलय रहेको वडामा गत निर्वाचनमा नेतृत्व हत्याउन सफल भट्टराई गल्याङ नगरपालिकाको मेयरका बलिया दाबेदार मानिनु हुन्छ । सफल ब्यबसायीसंगै सफल राजनीतिकर्मीको पहिचान बनाउनु भएका भट्टराई नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र नम्बर दुई “ख” को क्षेत्रीय सभापतिमा भारी मतकासाथ बिजय हुनुभएको थियो ।

 

 

लालगोपाल अर्याल

यो क्षेत्रका पुराना समाजसेवीको पहिचान बनाउनु भएका लालगोपाल अर्याल यस अघिको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट गल्याङ नगरपालिकाको मेयरका दाबेदार हुनुहुन्थ्यो । नेकपा एमाले बाट मेयरका प्रतिस्पर्धी भूपराज अधिकारीसंग करिब २२ सय मतको अन्तराल बाट नेतृत्व लिन बन्चित हुनुभएका अर्याल हालको निर्वाचनमा पनि मेयरको दाबेदारका रूपमा देखिनुहुन्छ ।

 

हरि खनाल

गल्याङ नगरपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवारले ४ वटा जितेका मध्य एक वडा अध्यक्ष हरि खनाल हुनुहुन्छ । ३,८,९,१० वडामा नेपाली काङ्ग्रेसका वडा अध्यक्षले नेतृत्व लिन सफल भएको पाइन्छ । वडा नम्बर ९ को अध्यक्षमा निर्वाचित खनाल मेयरको प्रतिस्पर्धीको रूपमा देखा पर्नुभएको छ । नेपाली काङ्ग्रेस नगरसभापतिको चुनावमा हालका अध्यक्षसंग प्रतिस्पर्धामा उत्रिएकै कारण अन्य वडा अध्यक्षको तुलनामा उहाँको सम्भावना बढेको देखिन्छ ।

गुरुप्रसाद भट्टराई

विद्यार्थी नेताबाट राजनितिमा पहिचान बनाउनु भएका गुरुप्रसाद भट्टराई प्रष्ट वक्ताका रुपमा चिनिनुहुन्छ । युवा नेताको पहिचान बनाउनु भएका भट्टराई यस क्षेत्रका सम्भावना बोकेका नेताका रुपमा चिनिनुहुन्छ । पुरै समय सामाजिक सेवामा खर्चिने भट्टराई हाल नेपाली काङ्ग्रेस स्याङ्जा जिल्ला सचिवमा भारी मतकासाथ बिजय हुनुभएको थियो । राजनीतिमा बलियो छापा बनाउनु भएका भट्टराई मेयरका बलिया दाबेदारका रुपमा चिनिनुहुन्छ ।

 

 

नेकपा एमाले

पारस गैरे


नेकपा एमालेबाट गल्याङ नगरपालिकामा बलिया दाबेदारका रूपमा चिनिनुहुन्छ पारस गैरे । नेकपा एमालेको जिल्ला अध्यक्षमा भारी मतकासाथ बिजय हुनुभएका गैरे युवा नेताका रूपमा चिनिनुहुन्छ । नेकपा माओवादी हुँदै एमालेमा प्रवेश गर्नुभएका गैरेलाई मेयरमा दुबै पार्टीको समर्थन हुने देखिन्छ । एमाले र माओवादी दुबैको समर्थन जुटाउन सक्ने गल्याङ नगरमा अर्को उम्मेदवार नदेखिएको हुँदा गैरे बलिया दाबेदार मानिनुहुन्छ । गत निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ “ख” मा झिनो मतका कारण बिजय प्राप्त गर्न नसक्नु भएका गैरे युवाका ढुकढुकीका नेता पनि भनेर चिनिनु हुन्छ ।

भूपराज अधिकारी
गल्याङ नगरपालिकाको पहिलो मेयर बन्न सफल भएकै कारण पनि नेकपा एमाले भित्र अबको नगर प्रमुख पुनः भूपराज अधिकारी हुनुपर्ने चर्चा चलेको देखिन्छ । शैक्षिक क्षेत्रबाट राजनीति प्रवेश गर्नुभएका अधिकारीले चर्चा र आलोचना दुबै बटुल्नु भएको छ । नगरपालिकामा आउने अनुदान प्राय साना किसान मार्फत गाउँ गाउँ पुर्याएर एक थरीको मन मनमा बस्न सफल हुनुभएको छ भने साना किसानमा आबद्ध नहुनेहरुको नजरमा आफ्नो सस्थामा आवद्ध मात्रै नगरपालिका जनता हुन भन्ने आलोचना पनि बटुल्नु भएको छ । हालको नगरप्रमुख भएकै कारण नेकपा एमाले बाट नगर प्रमुखको चर्चामा रहेको पाइन्छ ।

 

देबि थापा

साहसी र प्रष्ट वक्ताको पहिचान बनाउनु भएकि देबि थापाकाे मेयर हुने चर्चा नेकपा एमाले मात्रै नभएर आम जनमानसमा भएको पाइन्छ । उपमेयर नहुदासम्म समाजले खासै चिन्न नसकेको थापालाई उपमेयर हुँदा गरेको कामकै कारण लोकप्रियता बढेको पाइन्छ । जति गर्न सकिन्छ त्यतिमात्र बोल्ने अर्थात नेताको बोली भन्दा पनि जनताको बोली बोल्ने भन्ने पहिचान बनाउनु भएकी थापा गल्याङ नगरपालिकाको मेयरको चर्चामा हुनुहुन्छ । अब्बल महिलाको पहिचान बनाउनु भएकी थापा लाई गल्याङ नगरपालिकाको पहिलो महिला नगर प्रमुखको भनेर पनि चर्चा गर्ने गरेको पाइन्छ ।

छबिलाल भुसाल
राजनीतिमा योगदान मात्रै गर्न जान्ने अहिलेसम्म अवसर प्राप्त गर्न नसकेका नेताका रुपमा चिनिने छविलाल भुसालको मेयर लागि बलिया दाबेदार मानिनुहुन्छ । पार्टीको चुनावमा गल्याङ नगरको अध्यक्ष पदका बलिया दाबेदर बन्नु भएका भुसाललाई मेयरकाे टिकट दिलाउने गरि अध्यक्ष बाट पछि हटाइएको चर्चाले उहाँको सम्भावना बढ्दै गएको देखिन्छ । पुर्व मन्त्री पद्मा अर्यालको निकै बिश्वासिला पात्र मानिने भुसाल गल्याङ नगरपालिकाको मेयरका लागि बलिया दाबेदार मानिनुहुन्छ ।

दान बहादुर थापा
नेकपा एमालेको नगर अध्यक्ष भएकै कारण दान बहादुर थापाको मेयरको टिकट पाउने सम्भावना बढेर गएको हो । नेकपा एमाले भर्खरै सम्पन्न अधिबेशनबाट उहाँ गल्याङ नगरपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

 

 

 

नेकपा माओवादी

लोकेन्द्र थापा 

नेकपा माओवादीको मत निर्णायक मानिएको गल्याङ नगरपालिकामा माओवादीको समर्थन जता हुन्छ उसैले नगर प्रमुख जित्ने सम्भावना बढी देखिन्छ । यदि कुनै राजनीतिक दलसंग सहमति भएर माओवादीले मेयर पाउने सम्भावना रहे उक्त पार्टीले नगर अध्यक्ष लोकेन्द्र थापा अगाडि बढाउने सम्भावना देखिन्छ ।

 

 

नेकपा एकीकृत समाजवादी

नगर स्तरीय समिति बन्न नसकेका कारण नेकपा एकीकृत समाजवादी बाट मेयरकाे उम्मेदवार को भन्ने किटान नभएपनी पार्टीले आन्तरिक तयारी भने गरेको पाइन्छ

 

 

मौलिक जलोकिलो

आफुलाई नेपालकाे मौलिक सिद्धान्तमा आधारित पार्टी भन्दै आएको मौलिक जराेकिलोले भने हाल देखिएका राजनैतिक दलसंग साझेदारी गर्ने सम्भावना देखिदैन । जितेपनी हारेपनी एकलै उभिने तयारी गरेको उक्त पार्टीले अन्य पार्टीमा अवसरबाट बन्चित ब्याक्तीलाई यस पार्टीबाट उम्मेद्बारी बनाउने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय