विमानस्थलमा राखिएको श्रम डेस्क हट्यो, छुट्टै लाइन पनि बस्नु नपर्ने

२०७८ फाल्गुन २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं,२६ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ ।

श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुस्ख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गर्नुभएको हो । मन्त्री श्रेष्ठ सहित मन्त्रालयका अधिकारीहरु बुधवार अन्तराष्ट्रिय विमानस्थलमा गई श्रम डेस्क हटाइएको हो ।

अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ । सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दुस्ख दिएको गुनासो आएको थियो । विमानस्थलमा श्रमिकहरूको समस्यालाई समाधान गर्दै जाने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले जनाउनुभयो ।

विमानस्थलमा श्रमिकहरूका लागि यसअघि अर्को दर्जा जसरी छुट्टै गेटबाट प्रवेश दिने गरिएकोमा अव जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ । श्रमिकको प्रस्थानलाई छिटोछरितो बनाउन ३ वटै द्धारबाट प्रवेश पाउने विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताउनुभयो । मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको कोरोना भाइरसको पिसिआर परीक्षण चेकजाँच गर्ने प्रकृया पनि हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आग्रह गर्नुभयो ।

यसअघि वैदेशिक रोजगारीमा जाने र बिदामा आएका श्रमिक अनिवार्य रूपमा श्रम डेस्कमा गई डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया अगाडि बढाइन्थ्यो । अव श्रमिकले श्रम डेस्क नगइ जुनसुकै गेटबाट पनि बिमानस्थलमा प्रवेश पाउनेछन् । बिमानस्थलमा वैदेशिक रोजगार विभागले सुचना केन्द्र भने स्थापना गर्नेछ । केन्द्रले समस्यामा परेका श्रमिकको सहजीकरणका लागि काम गर्नेछ । श्रम स्वीकृती सक्कली या नक्कली हेर्न श्रम डेस्क राखिएको हो । अहिले अनलाइन सफ्टवेयर राखिएपछि त्यसको औचित्य सकिएको छ । वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका श्रमिकले प्रवेश र श्रम स्वीकृती स्टीकर परिक्षणका लागि घन्टौ लाइन बस्नु पर्ने बाध्यता हटेको छ । चालु आर्थिक वर्षको ७ महिनामा मात्र ३ लाख ५० हजार भन्दभ धेरै श्रमिकले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए । यस अघि वैदेशिक रोजगारमा जान विमानस्थल पुगेका दैनिक २ हजार श्रमिकले लामो लाइन बसेर श्रम स्वीकृतीको छाप लगाउनु पर्ने नियमका कारण सास्ती बेहोर्दै आएका थिए । श्रम डेस्क हटाइएपछि उनिहरु पनि खुसी भएका छन् ।

यसैगरी यस अघि वैदेशिक रोजगारीमा जान श्रमिकले ३ वटा मध्ये एउटा मात्र प्रस्थान द्धार प्रयोग गर्न पाउने विभेदपुर्ण नियम थियो । वैदेशिक रोजगारीमा जाने श्रमिकको प्रस्थानद्धारलाई सिमित गरिएका कारण प्रवेश गर्न समेत श्रमिकले घन्टौ लाइन बस्नु पर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय