राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक ः मुख्यमन्त्री पोखरेल

२०७८ फाल्गुन २८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

तनहुँ, २८ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी चुनावमा जीत हात पार्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

व्यास नगरपालिकाले शनिबार गरेको व्यास नगर अल्ट्रा म्याराथनको समापन कार्यक्रममा उहांले गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुने बताउनुभयो। व्यास नगरपालिका–५ मानुङकोटबाट सुरु भएको अल्ट्रा म्याराथन ४४ किलोमिटर दुरी पार गर्दै व्यास नगरपालिका ८ पुलिमराङमा सापन भएको हो । कार्यक्रममा मुख्यमन्त्रीले भन्नुभयो , ‘हामीमा गठनबन्धन संस्कृति नभएका कारण असजिलो लागेको हो, अहिले गठबन्धनकै सरकार बनेको छ, राष्ट्रिय सभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौं, आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ ।’ छिमेकी मुलुक भारतमा मनमोहन सिंहले २ पटकसम्म गठबन्धन सरकारकै नेतृत्व गरेको स्मरण गर्दै उनले नेपालका दलहरुले पनि त्यसको अनुुसरण गर्नुपर्ने बताउनुभयो । गएको चुनावमा भए भरका कम्युनिस्ट मिलेर तलदेखि माथिसम्म विजयी भए पनि दलहरुबीचकै मुटावका कारण राजनीतिक उतारचढाव आएको उहांको भनाइ थियो । अब कांग्रेसको नेतृत्वमा गठनबन्धन सरकार मिलेरै चुनावमा जाने र ३ तहकै चुनावमा विजय हासिल हुने मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

उहांले संघीयताको पहिचान भनेको प्रदेश सरकार रहेको भन्दै नागरिकका समस्या सुल्झाउन हरसम्भव प्रयास गरिरहेको बतउनुभयो । विकास निर्माण मात्र नभएर सामाजिक क्षेत्रमा समेत प्रदेश सरकारले उल्लेखनीय काम गरेको दाबी उहांको थियो । खेलकुदको प्रंसगमा उहांले गण्डकी प्रदेशलाई खेलकुद पर्यटनको हब बनाउनुपर्ने बताउनुभयो । अबको केही महिनामा पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको र त्यसको तयारीमा प्रदेश जुटेको पनि उहांको भनाइ थियो । खेलमार्फत् २ महत्वपूर्ण स्थललाई जोड्ने गरी सुरु गरेको अल्ट्रा म्याराथन व्यास नगरपालिकाको दुरदर्शी कार्य रहेको उहांले बताउनुभयो । मुख्यमन्त्री पोखरेलले सरदार यदुनाथ खनाल जन्मिएको मानुङकोट र सहिद गाउँ पुलिमराङ लाई खेलकुदका माध्यमबाट विश्वसामु चिनाउन म्याराथनले महत्वपूर्ण भूमिका खेलेको भनाइ राख्नुभयो । तनहुँको सदरमुकाम कब्जा गर्ने क्रममा पुलिमराङका धर्मध्वज गुरुङको स्मरण गर्दै त्यतिबेला राणा शासनको विरुद्धमा आवाज उठाएकै कारण शाहदत प्राप्त गरेको बताउनुभयो । पछि पञ्चायती व्यवस्थाको विरुद्धमा समेत पुलिमराङका युवाहरुले मुलुकका लागि ठूलो योगदानको उहांले कदर गर्नुभयो । उहांले भन्नुभयो, ‘धर्मध्वजले बन्दीपुरमा रगत बगाएकै दिनमा नेपालमा संघीय लोकतान्त्रिक व्यवस्थाको जग बसेको हो, अहिले आएर साकार भएको छ ।’

सहिद गाउँको नामले परिचित तनहुँको व्यास नगरपालिका ८ पुलिम¥याङ अहिले पर्यटकीय गन्तव्य बनेको छ । २००७ साल र त्यसपछि भएका आन्दोलनका क्रममा प्रजातन्त्र स्थापनाकै लागि भिडेका कारण यो गाउँका ६ जनाले मृत्युवरण गर्नु परेको छ । पुलिम¥याङ्कै भरत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङले विभिन्न समयमा शाहदत प्राप्त गर्नुभएको छ । पुलिम¥याङ गाउँभन्दा केही माथिको खाली जमिनमा अहिले सहिद पार्क बनाइएको छ र त्यहाँ तिनै ६ जना सहिदको प्रतिमा राखिएको छ । कार्यक्रममा व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो । उहांले मानुङकोटको पर्यटकीय महत्व र पुलिमराङको ऐतिहासिक महत्व जोड्नका लागि यो कार्यक्रम आयोजना खुलाए । उक्त अवसरमा स्थानीय एक्काबहादुर गुरुङ, टेकबहादुर गुरुङले सहिद पार्कमा सहज आवतजावतका लागि सडकको स्तरोन्नती गर्नुपर्ने आवश्यकता औंल्याए । उक्त अवसरमा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, जिल्ला समन्वय समिति तनहुँ प्रमुख शान्तिरमण वाग्लेसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले भनाइ राख्नुभएको थियो ।

आर्मीका बेदबहादुरलाई उपाधि व्यास नगरपालिकाले बर्सेनि गर्दै आएको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवारले हात पार्नुभएको छ । पाँचौं संस्करणको म्याराथनमा सुनुवारले मानुङकोटबाट पुलिमराङसम्मको ४४ किलोमिटर दुरी २ घन्टा ५८ मिनेट ७ सेकेन्डमा पुरा गर्नूभएको हो । नेपाली सेनाकै मोहनदेव जोशी ३ घन्टा ५ मिनेट ५० सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो र सेनाकै नवराज साउद ३ घन्टा ९ मिनेटमा दुरी पार गरी तेस्रो भए । सुमन कुलुङ, प्रमिश गुरुङ, दुर्गाबहादुर बुढा, शेरबहादुर थारु र गोपाल तामाङ सान्त्वना पाउनुभएको छ् । आयोजक व्यास नगरपालिकाका मेयर वैकुन्ठ न्यौपानेका अनुसार विजेताले ८५ हजार ७८, ६५ हजार ७८ रुपैयाँ पुरस्कार पाएका छन् । यसैगरी, दोस्रोले ५५ हजार ७८ तथा तेश्रोले १६ हजार ७८ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । म्याराथनमा १ सय ७३ जना धावक सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार