वालिङ नगरपालिका दोस्रो पटक उत्कृष्ट घोषित

२०७८ फाल्गुन २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वालिङ, २९ फागुन । वालिङ नगरपालिका लगातार दोस्रो पटक उत्कृष्ट घोषित भएको छ । नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजना गरिएको घोषणा सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले नगर प्रमुख दिलीपप्रताप खाँणलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

नेपाल नगरपालिका संघले विभिन्न सूचकहरुलाई आधार मानेर गरेको मूल्याङ्कन स्याङ्जाको वालिङ नगरपालिका आर्थिक वर्ष २०७७÷०७८ मा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उल्लेख्य कार्य गरेकाले उत्कृष्ट नगरपालिका पुरस्कार २०७८ प्राप्त गरेको हो ।

वालिङ नगरपालिका उत्कृष्ट घोषित भएसँगै नगर प्रमुख दिलीपप्रताप खाँणले आगामी दिनमा काम गर्नका लागि थप ऊर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । “वालिङ नगरपालिका नेपाल नगरपालिका संघ, विभिन्न दातृ निकायहरुसँग हातेमालो गर्दै विकासको गतिमा निरन्तर अगाडि बढिरहेको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “हामीले गरेको कार्य देशभरकै उत्कृष्ट रहेकोे भनी मूल्याङ्कन गर्नुहुनेप्रति नगरपालिकाकोतर्फबाट आभार व्यक्त गर्दछु ।”

वालिङ नगरपालिका पुरस्कृत हुँदै गर्दा यहाँका नागरिकहरुको सहयोगी भूमिका निक्कै महत्वपूर्ण रहेको नगर प्रमुख खाँणले बताउनुभयो । गतवर्ष पनि नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद जोखिम ब्यवस्थापन र उत्थानशीलतामा देशकै उत्कृष्ट नगर घोषित भई पुरस्कृत भएको थियो । त्यस्तै नेपाल नगरपालिका संघकै २३ औं स्थापना दिवसका अवसरमा २१७ नगरपालिकामध्ये वालिङ नगरपालिका सर्वोत्कृष्ट भई पुरस्कारसमेत प्राप्त गरिसकेको छ । नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह, सहरी योजना, सुशासन, फोहोरमैला व्यवस्थापन लगायतका विषयवस्तुलाई मूल्याङ्कन गर्दै वालिङ सर्वाेत्कृष्ट बन्न सफल भएको थियो । यसअघि संघीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा देशभरका पालिकाहरुमध्ये सर्वोत्कृष्ट सफा नगरका रुपमा वालिङलाई पुरस्कृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय