श्रममन्त्री श्रेष्ठको त्रिदेशीय भ्रमण मुलुकका निम्ति फलदायी

२०७८ चैत्र ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

९ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको त्रिदेशीय भ्रमण मुलुकका लागि फलदायी भएको छ । गत  फागुन ३० गतेदेखि मंगलवारसम्म मन्त्री श्रेष्ठ नेतृत्वमा भएको संयुक्त अरब इमिरेट्स (युएई ), सेसेल्स र कतारको भ्रमण मुलुकका निम्ति निकै फलदायी भएको मन्त्री श्रेष्ठले बताउनुभयो । भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे गन्तव्य मुलुकका मन्त्री र सरकारी अधिकारीहरुसँग भएको द्विपक्षीय छलफल दीर्घकालिन महत्वको रहेको बताउनुभयो । संयुक्त अरब इमिरेट्स (युएई ) मा पर्यटन भिसामा पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका बिषयमा त्यहाँका मानव संशाधनमन्त्री अव्दुल रहमान अव्दुलमानन अल अवारसँग छलफल गर्नुभएको थियो । सो अवसरमा अलपत्र परेका नेपालीहरुलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने बाध्यता भएकाहरुलाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्न युएई सरकारले सहयोगको प्रतिवद्धता जनाएको थियो ।

अलपत्र परेका नेपालीहरुको समस्या समाधान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति पनि भएको थियो । संयुक्त अरव इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि मन्त्री श्रेष्ठले छलफल गर्नुभयो । मन्त्री अवारले  युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ती उत्पादनमा सहयोग गर्ने र श्रमिक अस्पताल निर्माणमा पनि युएई सरकारले सहयोग गर्ने बताउनुभएको थियो । भ्रमणको क्रममा नेपाल-युएई संयुक्त समितिको दोस्रो वैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयमा भएको वैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो वैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे समीक्षा भएको थियो । युएईमा रहेका नेपालीहरुलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रकृया पुर्णत निशुल्क गर्ने सहमति पनि भएको छ ।

युएईमा रहंदा मन्त्री श्रेष्ठले श्रेष्ठले नेपाली समुदायका अगुवा, श्रमिक तथा व्यवसायीहरुसँग अन्तरक्रिया गर्नुभएको थियो । संयुक्त अरव इमिरेट्सको भ्रमणकै क्रममा मन्त्री श्रेष्ठ नेतृत्वको टोलीले तडवीर सेन्टर भ्रमण गरी घरेलु कामदारका रुपमा जाने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाहरुबाट जानकारी लिनुभएको छ ।  गणतन्त्र सिसेल्सको भ्रमणका क्रममा  मन्त्री श्रेष्ठसँग रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्काले द्विपक्षीय भेटवार्ता गरी श्रम सम्झौतालाई छिट्टै ट्ङ्गोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ  । सम्झौतासँगै सिसेल्सको जेल सुरक्षा, प्रहरी सेवाका साथै होटल तथा पर्यटन क्षेत्रमा नेपाली श्रमिक लैजान बाटो खुल्नेछ ।

कतार भ्रमणका क्रममा  मन्त्री श्रेष्ठले कतारका श्रममन्त्री डा. अल वीन समिख अल मारीसँग भेटवार्ता गरी नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विमर्श गर्नुभयो । भ्रमणकै क्रममा नेपाल र कतारबीच श्रम सम्झौता नविकरणका लागि सचिवस्तर र कार्यदलस्तरमा पनि छलफल भई जुन महिनाभित्र हस्ताक्षर समारोह सम्पन्न गर्ने सहमति भएको छ । भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय