अष्ट्रेलिया जानेको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन मन्त्री खतिवडाको आग्रह

२०७८ चैत्र ११, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ११ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन आग्रह गर्नुभएको छ ।

सीमित स्थानबाट मात्र परीक्षण हुँदा रोजगारी र अध्ययनका लागि अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षणको पालो ढिलो आउने र त्यसले समस्या पर्ने गरेको भन्दै मन्त्री खतिवडाले त्यसलाई तत्काल दायरा बढाई सहज गराउन आग्रह गर्नुभएको हो । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले मन्त्री खतिवडासँग शिष्टाचार भेट गर्ने क्रममा सो कुरामा जोड दिनुभएको हो । भेटमा दुई देशबीचको सन् १९६० देखिको कुटनीतिक सम्बन्ध, नेपाललाई अष्ट्रेलियाले स्वास्थ्य क्षेत्रमा गरेको सहयोग र आगामी दिनमा हुनसक्ने सहयोग आदानप्रदान तथा सहकार्यबारे छलफल भएको थियो ।

छलफलमा मन्त्री खतिवडाले स्वास्थ्यका क्षेत्रमा अष्ट्रेलियाले नेपाल सरकारलाई गर्दै आएको सहयोगप्रति धन्यवाद प्रकट गर्नुभयो । भेटमा मन्त्री खतिवडाले नेपालबाट अध्ययन र रोजगारीका लागि अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण सिमित स्थानबाट मात्र हुँदा नेपालीले दुःख पाइरहेको भन्दै धेरै ठाँउबाट परीक्षणको व्यवस्था मिलाउन आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार शान्तराम बिडारीले जानकारी दिनुभयो ।

सो अवसरमा राजदूत भोल्कले उक्त गुनासो चाँडै सम्बोधन गर्ने आश्वासन दिनुभयो । “अन्यत्रबाट पनि यस विषयमा कुरा आएको छ, स्वास्थ्य परीक्षणको विषय त्यहाँको गृह मन्त्रालयँंग सम्बन्धित छ, नेपालीलाई कसरी सहज हुन्छ, त्यसतर्फ कदम चाल्छु”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय