नेपाली कांग्रेस आँधीखोलाद्वारा प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न

२०७८ चैत्र २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

साधना न्यौपाने

स्याङ्जा, २७ चैत्र । नेपाली काङ्ग्रेस आँधीखोला गाउँपालिका कार्यसमितिद्वारा शनिबार जुग्ले बजारस्थित आँधीखोला सामुदायिक भवनमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा बोल्दै पाण्डेले काङ्ग्रेसले जिम्मेवार राजनीति गरिरहेको बताउनुभयो । उहाँले काङ्ग्रेसले नै मुलुकका समस्या समाधान गर्न सक्ने सामथ्र्य राख्ने बताउँदै देशको जटिल परिस्थितिमा जहिले पनि काङ्ग्रेसले नै मुलुकलाई नेतृत्व गरिरहेको भन्दै सबै कार्यकर्ताहरु काङ्ग्रेसलाई एकताबद्ध बनाउन लाग्नुपर्ने र जनताको सुखदुखमा जोडिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति तथा संविधानसभा सदस्य राजु थापाले काङ्ग्रेस नै मुलुकको सबैभन्दा ठुलो लोकतान्त्रिक शक्ति भएकाले काङ्ग्रेसको विचार र नीति सही भएको बताउनुभयो । उहाँले वीपी, कृष्णप्रसाद भट्टराई र गणेशमानहरुको पार्टीको कार्यकर्ता हुन पाउँदा गर्वका साथ शिर ठाडो पारेर हिँड्नुपर्ने बताउभुयो । हिजोको राजनैतिक आन्दोलनको नेतृत्व पनि काङ्ग्रेसले गरेको र भोलिको आर्थिक संवृद्धिको नेतृत्व पनि काङ्ग्रेसले नै गर्ने समेत थापाले बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गण्डकी प्रदेश कार्यसमितिकी सदस्य उर्मिला गुरुङले राजनीतिलाई सामाजिक सेवाका रुपमा लिनुपर्ने बताउँदै जनताको सुखदुःखमा का»्ग्रेसका सबै नेता तथा कार्यकर्ता जोडिनुपर्ने धारण व्यक्त गर्नुभयो । उक्त प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा आँधीखोला वडा नं ५ का वडाध्यक्षका उम्मेदवार कृष्ण पौडेलले आफूले विगतमा ३० वर्ष कम्युनिष्ट पार्टीभित्र रहेर काम गरेको तर काङ्ग्रेसमा जस्तो खुलापन र सही दृष्टिकोण कम्युनिष्टहरुमा नरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले आँधीखोला गाउँपालिका ५ का वडाध्यक्षका दाबेदार तथा विगत वीस वर्षदेखि एमालेमा राजनीति गरिरहेका नरेन्द्र लामिछानेसहित दर्जनौं विभिन्न दलका नेता तथा कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए । उक्त कार्यक्रममा नवप्रवेशी लामिछानेले आफूले विगतमा नेकपा एमालेमा लागेर गल्ती गरेको भन्दै लोकतन्त्र, समाजवाद र आर्थिक विकासका लागि काङ्ग्रेसको विचार नै सही हो भन्ने निष्कर्षमा पुगेर आफुले काङ्ग्रेस रोजेको बताउनुभयो ।

सो कार्यक्रममा नेपाली काङग्रेस गण्डकी प्रदेश सदस्य तथा संसदीय बोर्डका सदस्य कुमबहादुर गुरुङ, महाधिवेशन प्रतिनिधि प्रेम पौडेल, नेपाली काङ्ग्रेस आँधीखोलाका सभापति नरेन्द्र पौडेल, नेपाली काङ्ग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्साल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सभापतित्व सभापति नरेन्द्र पौडेलले गर्नुभएको थियो भने सञ्चालन पालिका सचिव रघु पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय