गल्याङमा किसानका लागि हाते ट्याक्टर र कम्बाइन मिल वितरण

२०७८ चैत्र २८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

साधना न्यौपाने ,

स्याङ्जा,२८ चैत । गल्याङ नगरपालिकाले नगरपालिका भित्रका कृषकहरुका लागि ५० प्रतिशतको लागत साझेदारीमा हाते ट्याक्टर तथा कम्बाइन मिल वितरण गरेको छ ।

गल्याङ नगर सिटी हलमा शुक्रबार एक कार्यक्रम गरी किसानहरुलाई हाते ट्याक्टर तथा कम्बाइल मिल वितरण गरेको हो । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले उत्पादनमा कमि हुँदा देशमा आर्थिक संकट बढ्दै गएको बताउनुभयो । उहाँले रेमिट्यान्समा मात्रै निर्भर हुँदा देश नै आर्थिक संकटमा जाने भन्दै श्रीलंकाबाट पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘मैले आफु निर्वाचित भए देखि नै कृषि र पशुपालनलाई विशेष जोड दिदै आएको छु, त्यो भनेको उत्पादन बढाउने कुरा हो ।’ पेशा कृषि भनिएपनि धेरै किसानहरु किनेर खाने समूहमा पर्ने गरेको भन्दै उहाँले अब बेचेर खाने किसानमा रुपान्तरण हुनुपर्ने बताउनुभयो ।

नगरप्रमुख अधिकारीले किसानहरुको सहजताका लागि आफु सधैं क्रियाशिल रहेको भन्दै यस्ता अनुदानहरुलाई बढाउँदै जानुपर्ने बताउनुभयो । उहाँले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था केही हुने खानेहरुलाई चित्त नबुझेको भए पनि वास्तविक किसानलाई राहत पुगेको बताउनुभयो । उहाँले भन्नुभयो –‘उत्पादनको आधारमा अनुदानको व्यवस्थाले गरी खाने वर्गलाई राहत पुग्छ र गरिबी कम हुन्छ ।’ आफु सधैं कमजोर वर्गलाई माथि उकास्ने पक्षमा भएको भन्दै नगरप्रमुख अधिकारीले अहिले माग र आवश्यकताको आधारमा किसानहरुलाई लागत साझेदारीमा हाते ट्याक्टर तथा कम्बाइल मिल वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो –‘किसानहरुको आवश्यकताको आधारमा हामीले यस्ता कार्यक्रम ल्याएका छौं । यसले उत्पादन बढाउन भूमिका खेल्ने अपेक्षा गरेको छु ।’ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले कृषि क्षेत्रमा यान्त्रीकरणको खाँचो रहेको भन्दै त्यो पुरा गर्न यस्ता कार्यक्रमहरुको आवश्यकता रहेको बताउनुभयो । उहाँले हाते ट्याक्टर वितरण पछि किसानहरुलाई उत्पादन बढाउने धेरै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कृषि शाखा प्रमुख शिब ढकालले प्रति ट्याक्टर १९ हजार पाँच सयमा ८५ वटा ट्याक्टर तथा प्रति कम्बाइन मिल १४ हजार पाँच सयमा ४५ वटा कम्बाइन मिल वितरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय