जनताको आकर्षण विश्वास हामीमाथि छ : सुर्यप्रसाद गैरै ‘पारस’

२०७९ बैशाख २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

स्याङ्जा , २४ वैशाख । स्थानीय तहको निर्वाचन हुन अब केही दिन मात्र बाँकी छ । सबै राजनीतिक दल र उम्मेद्वारहरु चुनावी प्रचारमा व्यस्त रहेका छन् । नेकपा(एमाले) स्याङ्जाका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैरै पारस लाई भने यसपटकको चुनाव प्रतिष्ठाको विषय बनेको छ । स्याङ्जा जिल्लाभित्र रहेका ११ वटा स्थानीय तहमध्ये पालिका प्रमुखमा उम्मेद्वार हुनुुभएका उहाँ पार्टी पोर्टफोलियोमा सबैभन्दा सिनियर नेता हुनुुहुुन्छ । गल्याङ नगरपालिकामा अहिले पनि एमालेका जिल्ला नेता प्रमुखको रुपमा रहेका छन् । प्रस्तुत छ, माओवादी, नेकपा र नेकपा(एमाले)को जिल्ला अध्यक्ष भइसकेका गैरेले स्थानीय तहको निर्वाचनमा आफुलाई कसरी प्रस्तुत गरेका गर्नुुभएको छ भन्ने विषयमा हेर्ने कुुरा अनलाइन सम्वाददाताले गरेको कुराकानीको सम्पादित अंश :

चुनावको प्रचार–प्रसार कसरी गरिरहनुभएको छ ?

निर्वाचनलाई मर्यादित र कम खर्चिलो बनाउन निर्वाचन आयोगले उम्मेदवारी दर्ता भएपछि मतदानसम्मको समयलाई छोटो बनाएको छ । उम्मेद्वारले छोटो समयभित्र सबै मतदाताकोमा पुगेर उहाँहरुको विषयलाई सुन्ने, आफ्नो विचार तथा कार्यक्रम सुनाउने र मत माग्ने काम गर्नुपर्ने हुन्छ । हामीले समयलाई अत्यन्तै ख्याल गरेर सबै वडा र टोलमा प्रचार–प्रसार पु¥याउने उद्देश्यले समय तालिका निर्धारण गरेर समूह निर्माण गरेर लागेका छौं । आयोगले निर्धारण गरेको मापदण्डअनुसारको प्रचार सामग्री तयार गरेर सबै मतदाताहरुसमक्ष पु¥याउने कोशिष गरेका छौं । सामाजिक सञ्जाल र अन्य मिडियाहरुलाई पनि प्रयोग गरेर प्रचार–प्रसार गर्ने कामलाई अगाडि बढाएका छौं । मुख्यतः यस पालिकामा अरु दलको तुलनामा हाम्रो पार्टी ठुलो, व्यवस्थित र जनबर्गिय संगठन भएकाले सबै संयन्त्रहरुको पनि परिचालन गरेर हाम्रो उम्मेद्वार परिचय र चुनावी एजेण्डालाई आम जनतासमक्ष लैजाने काम गरिरहेका छौं ।

दल अथवा उम्मेद्वारहरुबीचमा प्रतिस्पर्धाको वातावरण कस्तो छ ?

दलिय प्रणाली वा लोकतन्त्रमा नेतृत्व वा सत्ताको लागि प्रतिस्पर्धा गर्नु स्वभाविक हो । यसपटक हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा बिगतको अवस्थाको तुलनामा हाम्रो पार्टी, नेतृत्व र चुनावी एजेण्डा जनतामा थप लोकप्रिय भएको हामीले महसुस गरेका छौं । अन्य दलका साथीहरु पनि चुनावको प्रचारमा लाग्नुभएको छ । सबै दलहरुबीचमा स्वस्थ प्रतिस्पर्धाको वातावरण रहेको अवस्था छ ।

गल्याङ नगरपालिकामा अहिले पनि तपाईंकै पार्टीको प्रतिनिधिको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ । यो ५ वर्षको अवधिमा पालिकामा भएका कामको कसरी समिक्षा गर्नुभएको छ ?

हो । हामीले हरेक घट्ना, विकास वा रुपान्तरणलाई तत्कालिन वस्तुगत सापेक्षतासँग आधार मानेर मूल्यांकन गर्नुपर्ने हुन्छ । हामीले मुलुकमा व्यवस्था परिवर्तनपश्चात संविधान निर्माण गरिसकेपछि मात्रै पहिलो आवधिक स्थानीय सरकार सञ्चालन गर्यौं । सो अवधिमा पालिकाहरुले गर्नुपर्ने कानुन निर्माण, नयाँ संस्थागत अभ्यासको प्रारम्भ र विकासका कार्यक्रमहरुलाई अगाडि बढाउने महत्वपुर्ण भूमिका निर्वाह गरेका छन् । वर्तमान समय सापेक्षतामा आम जनताले अपेक्षा गरेअनुरुप काम भयो वा भएन त्यो समिक्षा हामीले गर्नसक्छौं । तर सकरात्मक रुपमा लिंदा हामीले संस्थागत रुपमा स्थानीय सरकारको अभ्यास गरेका छौं र यसले शुरुवात गरेका सकरात्मक कुराहरुलाई संस्थागत गर्दै वा निरन्तरता दिंदै कमजोरी पक्षलाई सुधार गर्दै लैजानु नयाँ पिँडीको दायित्व हो ।

तपाईं जिल्लामा प्रभावशाली वा क्षमतावान युवा नेताको रुपमा पनि परिचित हुनुहुन्छ । गल्याङ पालिकाको मेयर पदको उम्मेदवारी बनिरहँदा कस्ता एजेण्डा अगाडि सार्नुभएको छ ?

हामीले मुलतः व्यवहारिक, सम्भावनायुक्त र यहाँको आवश्यकतालाई सम्बोधन गर्ने विषयवस्तुलाई चुनावी एजेण्डाको रुपमा अगाडि सारेका छौं । खासगरी हामीले कृषिलाई सबै तहका सरकार, किसान र निजी क्षेत्रको आपसी साझेदारीमा व्यवसायिक उत्पादनमुलक र दिगो रोजगारमुलक बनाउने ऐजेण्डा अगाडि सारेका छौं । शिक्षा क्षेत्रलाई पुर्णत व्यवहारिक तथा बैज्ञानिक र स्वास्थ्य क्षेत्रलाई सबैको पहुँचमा र सुविधासम्पन्न बनाउने विषयलाई अगाडि सारेका छौं । युवा उद्यमी सिर्जना गर्ने, लक्षित बर्गलाई पुर्ण रुपमा सामाजिक सुरक्षाको प्रत्याभुति दिलाउने, महिला तथा बालबालिकाको अधिकार, स्वास्थ्य र पोषण सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यक्रमलाई हामीले अगाडि सारेका छौं । हामीले पालिकालाई अगामी ५ वर्षभित्र कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पर्यटन, भौतिक पुर्वाधार, वन तथा वातावरण, युवा तथा खेलकुद, आदि सम्पुर्ण विधाहरुमा नमूना रुपमा विकास गर्ने व्यवहारिक र सम्भावनायुक्त कार्यक्रमलाई समेटेर चुनावी प्रतिवद्धता सार्वजनिक गरी आमजनतासमक्ष पुर्याएका छौं । संविधानले स्थानीय तहलाई जनतासँग जोडिएको एउटा सरकारको रुपमा स्वीकार गरेको छ । हामी आगामी ५ वर्षमा जनतासँग सहकार्य गरेर साँच्चै नै एउटा नमूना विकासशिल पालिकाको निर्माण गर्ने उद्देश्य र योजनासँगै चुनावमा होमिएका छौं ।

के तपाईंले अगाडि सारेका योजना तथा प्रतिवद्धताले यस पालिकाको आम जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न सक्छ ?

म यहि माटोमा जन्मिएर यहि समाजको रुपान्तरण र समृद्धिको सपना देखेर नै २ दशक भन्दा धेरै समय बिताइसकेको छु । हामीले केही विषयहरु बाँकी होलान तर व्यवस्थाको नै रुपान्तरण गरेर मुलुकमा नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गरेर शासन अभ्यास गरिरहेका छौं । राजनीतिक व्यवस्था परिवर्तन पछि अब हाम्रो जिम्मेवारी भनेको मुलुकमा समृद्धिको आयाम ल्याउनु हो वा हरेक क्षेत्रमा व्यापक र आधुनिक विकास गर्नु हो । हामीले जनताले उठाएका माग, चाहना र आवश्यकतालाई समेटेर चुनावी प्रतिवद्धतापत्र तय गरेका हौं, तर हामीले एउटा महत्वपुर्ण कुरा के उठाएका छौं भने हाम्रो विजयपश्चात यो पालिकाको विकासको लागि पहिला हामीले असाध्यै धेरै बैज्ञानिक सर्वेक्षणमार्फत पालिकाको गुरुयोजना(मास्टर प्लान) निर्माण गर्नेछौं । सो निर्माण प्रकृयामा सबै बौद्धिक समुदाय र आम जनताको सहभागितालाई ग्यारेन्टी गर्नेछौं । जसले गर्दा यदि कुनै विषय छुट्न पुगेको रहेछ भने त्यसलाई फेरि समेटेर अगाडि बढ्नेछौं । त्यसैले हामी नै त्यो उम्मेद्वार हौं, जसले खासमा जनताको आवश्यकता र समस्या समाधानको निमित्त प्रतिनिधि बनेर काम गर्न सक्छौं ।

कतिपय दलमा बागी उम्मेदवार र आन्तरिक असहयोग पनि देखिएको छ । के तपाईंको नेतृत्वमा निर्वाचन जित्नका लागि पार्टी एकढिक्का भएर लागेको छ ?

छ । म लगायत सबै उम्मेद्वार पार्टीले सर्बसम्मत प्रकृयाबाट सिफारिस गरेर उम्मेद्वार भएका हौं । राष्ट्रिय राजनीतिमा केही उतारचढाव र टुटफुट पश्चात अहिले हाम्रो पार्टी एकढिक्का रुपमा रहेको छ । त्यसैले चुनावी अभियानमा सम्पुर्ण तहको पार्टी कमिटी र जनबर्गिय संगठन एकढिक्का भएर लागेको अवस्था छ ।

निर्वाचनमा तपाईंको विजयको सम्भावना कति देख्नुभएको छ ?

पहिलो त हाम्रो पार्टी आँफैमा लोकप्रिय र विशाल संगठन सहितको छ । दोस्रो, लोकप्रिय उम्मेद्वार र सहि चुनावी एजेण्डालाई हामीले अगाडि बढाएका छौं । जनताको आकर्षण र विश्वास हामीमाथि छ । त्यसैकारण विगतको निर्वाचनको तुलनामा अझै बढी सानदार मत प्राप्त गरेर विजयको नजिक हामी पुगिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार