पाल्पा, ४ जेष्ठ । बैशाख ३० भएको स्थानीय चुनावको लागि एक भोटको लागि ८० हजारसम्म दिन नेकपा एमाले तयार भएको अडियो बाहिरिएको छ । पाल्पाको पुर्वखोला गाउँपालिकाका ६ नम्बरकाे वडा अध्यक्षका लागी नेकपा एमालेका उम्मेदवारले यत्रो रकम दिन तयार भएको रहस्य बाहिरिएको हो ।
बिधालय ब्यबस्थापन समितीका अध्यक्षले वडा अध्यक्षमा उम्मेदवारी दिएपछि शिक्षकले भोट माग्दै एक भोटको ८० हजारसम्म दिने गरि गरेको कुराकानीको रेकर्ड बाहिरिएको हो । जनप्रिय माध्यमिक बिधालय पुर्वखोला वडा नम्बर ६ का शिक्षक भरत सिङजालीले सोही वडामा एमाले बाट वडा अध्यक्ष उम्मेदवार बन्नुभएका धन बहादुर घर्तीको लागि मौन अवधीमा पैसाको बार्गेनिङ गरेको अडियो बाहिरिए संगै चुनाव निष्पक्षतामा प्रश्न चिन्ह उब्जाएको छ । सबैको साझा बन्नुपर्ने शिक्षक यसरी भोट किन्न गाउँ गाउँ परेपछि शिक्षकको पेशामा समेत प्रश्न चिन्ह खडा भएको छ ।
नेकपा एमाले र नेपाली काङ्ग्रेस बीच कडा प्रतिस्पर्धा भएको उक्त वडामा नेपाली काङ्ग्रेस लाई परेको १७ भोट बदर भएको थियो भने १६ भोटका कारण नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको थियो ।