स्याङ्जामा वडा अध्यक्षका तीन महिला विजयी,प्रमुखमा पदका तीन पराजित

२०७९ जेष्ठ ७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ७ जेठ । स्याङ्जाका ९७ मध्ये तीन वडाको अध्यक्षमा महिला उम्मेदवार विजयी हुनुभएको छ भने ११ पालिकाका तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित हुनुभएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका २, बिरुवा गाउँपालिका ३ र चापाकोट नगरपालिकाको ६ नं वडाको अध्यक्षमा महिला उम्मेदवार विजयी हुनुभएको हो । कालीगण्डकी गाउँपालिका २ मा नेपाली कांग्रेसकी खगीसरा आले विजयी हुनुभएको छ । कांग्रेस र जनमुक्ति पार्टीबीच गठबन्धन भएको उक्त वडामा विजयी हुनुभएकी आलेले कूल एक हजार ३३३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका श्रीराम पाण्डेले ४३१ मत प्राप्त गर्नुभयो । उक्त वडामा कूल एक हजार ८९० मत खसेको निर्वाचन अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै बिरुवा गाउँपालिका–३ को अध्यक्षमा माओवादी केन्द्रकी मनकुमारी थापा विजयी हुनुभएको छ । थापाले कूल ४९५ मत ल्याएर निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका सन्तबहादुर आलेले ४१८ मत प्राप्त गर्नुभयो ।

उता चापाकोट नगरपालिका–६ मा कांग्रेसकी तारादेवी पोखरेल २१ मतान्तरले निर्वाचित हुनुभयो । विजयी हुनुभएकी पोखरेलले ४३६ प्राप्त गर्नुभएको हो भने उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ज्ञानेश्वर बस्ताकोटीले ४१५ मत ल्याउनुभयो । यसअघि २०७४ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा फेदीखोला, अर्जुनचौपारी र हरिनास गाउँपालिकाका एक÷एक वडाको अध्यक्षमा महिला निर्वाचित हुनुभएको थियो । फेदीखोला–५ मा देउकुमारी गुरुङ, अर्जुनचौपारी–४ मा जीतकुमारी चपाई र हरिनास–७ मा केशमाया थापा विजयी हुनुभएको थियो ।

त्यस्तै स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित हुनुभएको छ । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिनुभएका तीन महिला पराजित हुनुभएको हो ।

पुतलीबजार नगरपालिकाको प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा माया रानाले उम्मेदवारी दिनुभएको थियो । नेकपा एमालेबाट पुतलीबजार नगर प्रमुखमा उम्मेदवारी दिनुभएकी क्षेत्री यसअघि नगर प्रमुख हुनुहुन्थ्यो । विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका तुल्सीराम रेग्मीलाई पराजित गर्नुभएकी क्षेत्री अहिले रेग्मीबाट नै पराजित हुनुभएको हो ।

नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बन्नुभएका रेग्मी १२ हजार ४९४ मत पाएर पुतलीबजारको नगर प्रमुखमा निर्वाचित हुनुभएको हो भने पराजित हुनुभएकी क्षेत्रीले १० हजार ९० मत प्राप्त गर्नुभयो ।

त्यस्तै अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएकी गुरुङ नेपाली कांग्रेसका प्रकाश तिवारीसित पराजित हुुनुभएको हो । गाउँपालिकाको अध्यक्षमा विजयी तिवारीले पाँच हजार २९१ मत ल्याउँदा उहाँकी प्रतिस्पर्धी गुरुङले तीन हजार ३४७ मत ल्याउनुभयो । गुरुङ २०७४ मा गाउँपालिकाको उपाध्यक्षमा विजयी हुनुभएको थियो ।

त्यस्तैगरी कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकातर्फबाट उम्मेदवारी दिनुभएकी राना एमालेका उम्मेदवार खिमबहादुर थापासित पराजित हुनुभएको छ । अध्यक्षमा विजयी हुनुभएका थापा छ हजार ७०० मत ल्याएर विजयी हुँदै गर्दा राना पाँच हजार ५५ मत ल्याएर पराजित हुनुभयो ।

विसं २०७४ को निर्वाचनमा थापा गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको थियो । यो उहाँको दोस्रो कार्यकाल हो । यसअघिको निर्वाचनमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा क्षेत्रीमात्रै एकल महिला उम्मेदवार बनी विजयी भए पनि यसपटक क्षेत्री, गुरुङ र राना तीन जना हुनुहुन्थ्यो तर तीनै जना अनुमोदित हुन सक्नुभएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय