बुटवल उपमहानगरको प्रमुखमा विजयी स्याङ्जामा जन्मेका पाण्डे को हुन् ?

२०७९ जेष्ठ ७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

बुटवल, ७ जेठ । स्याङ्जाको आलमदेवी काेटाकाेटमा जन्मिनु भएका खेलराज पाण्डे नेपाली काङ्ग्रेसको तर्फबाट बुटवल उपमहानगरपालिकाको मेयरको पदमा विजयी हुनुभएको छ । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली काङ्ग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बन्नुभएका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति पाण्डे विजयी हुनुभएको हो ।

स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा नेकपा (एमाले) का तर्फबाट नगरप्रमुख निर्वाचित हुनुभएका निवर्तमान नगरप्रमुख शिवराज सुवेदीसँग करिब दुई हजार ३०० मतले पराजित हुनुभएका पाण्डेलाई अहिले एमालेकै उम्मेदवारलाई सात हजारभन्दा बढी मतान्तरले पराजित गरेर विजयी हुनुभएको छ । उपप्रमुखमा भने एमालेकी उम्मेदवार सावित्रा अर्याल विजयी हुनुभएको छ । उहाँ गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार चीनबहादुर गुरुङलाई झण्डै सात हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

बुटवलमा १९ वडा रहेकामा कांगे्रसले १२ वडामा जित हासिल गरेको छ । एमालेले पाँच वडामा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले एक र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

को हुन् खेलराज पाण्डे?

२०२६ फागुन ५ गते स्याङ्जाको साविक आलमदेवी २ (हाल कालीगण्डकी-२)मा जन्मिनु भएका पाण्डे हाल बुटवल उपमहानगरपालिका-६ का बासिन्दा हुनुहुन्छ। १३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरु गरे पनि विद्यार्थी संगठनमा आवद्ध भइ स्याङ्जाबाट आफ्नो राजनीतिक जीवन सुरु गर्नुभएकाे हाे। आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिनुभएका पाण्डे २०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध हुनुभएकाे थियाे।

त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव बन्नुभएकाे हाे । विद्यार्थी राजनीतिपछि तरुण दलमा आबद्ध पाण्डे २०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य हुनुभयाे भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति हुनुभयाे ।

२०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील  हुनुहुन्छ। पाण्डेले स्नातक तहसम्मको अध्ययन गर्नुभएकाे छ ।

कुन वडामा कसले जिते?

वडा नम्बर १ मा नरेन्द्र बस्नेत (स्वतन्त्र)
वडा नम्बर २ मा सुनिल शाक्य (नेकपा एकिकृत समाजवादी)
वडा नम्बर ३ मा बिष्णु ढकाल (माओवादी केन्द्र)
वडा नम्बर ४ मा नरिश्वर पौडेल (नेपाली कांग्रेस)
वडा नम्बर ५ मा हरिप्रसाद श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नम्बर ६ मा लोकनाथ न्यौपाने (नेपाली कांग्रेस)
वडा नम्बर ७ मा पदमराज गाहा (नेपाली कांग्रेस)
वडा नम्बर ८ मा यज्ञ पंगेनी (नेपाली कांग्रेस)
वडा नम्बर ९ मा प्रदीप कुमार श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नम्बर १० मा बलु पुन (नेकपा एमाले)
वडा नम्बर ११ मा रामचन्द्र क्षेत्री (नेकपा एमाले)
वडा नम्बर १२ मा डिल्लीप्रसाद शर्मा (नेपाली कांग्रेस)
वडा नम्बर १३ मा नारायण पुन (नेपाली कांग्रेस)
वडा नम्बर १४ मा दधिराम न्यौपाने (नेकपा एमाले)
वडा नम्बर १५ मा शिव राना (नेपाली कांग्रेस)
वडा नम्बर १६ मा कृष्ण पौडेल (नेपाली कांग्रेस)
वडा नम्बर १७ मा ज्ञान बहादुर रेश्मी (नेपाली कांग्रेस)
वडा नम्बर १८ मा गुरु प्रसाद पङ्गेनी (नेकपा एमाले)
वडा नम्बर १९ चन्द्रसिंह थापा (नेकपा एमाले)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय