वालिङमा दिगो बिकासको स्थानीयकरण अन्तर्गत हरित पुनःउत्थान परियोजना शुरु

२०७९ जेष्ठ १४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

दिवस भण्डारी 

वालिङ , १४ जेठ । वालिङमा दिगो बिकासको स्थानीयकरण अन्तरगत हरित पुनःउत्थान तथा कोभिड–१९ प्रतिकार्य पहल परियोजना शुरु भएको छ ।

वालिङ नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा परियोजना शुरु भएको हो । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधी तथा सरोकारवालाहरुलाई परियोजनाको सञ्चालन र गरिने क्रियाकलापका सम्वन्धमा जानकारी गराईएको छ । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका निवर्तमान् नगरप्रमुख दिलिपप्रताप खाँणले शिक्षा र आर्थिक बिकास बिना गरिवि हट्न नसक्ने बताउनु भयो । नगरपालिकाले बिगतका बर्षहरुमा उत्पादनमा जोड दिदै आएको भन्दै यसलाई निरन्तरता दिन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह समेत गर्नु भयो ।

आर्थिक विकास सबै भन्दा ठुलो बिषय हो खाँणले भन्नुभयो जसका लागि सबैलाई उत्पादनमा जोड्न जरुरी छ । प्रभावकारी रुपमा यसअघिका परियोजनाा सञ्चालन भईरहेको खाँणको भनाई छ । दिगो बिकासको स्थानीयकरण कार्यक्रम मार्फत कोभिड प्रभावित तथा अन्य कारणले समस्यामा परेका वालिङका कृषक तथा उद्यमीहरुलाई फाईदा पुग्ने निर्वातमान् प्रमुख खाँणले बिश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन र गरिवि घटाउन सञ्चालन भईरहेका योजनालाई प्रभावकारी रुपमा सञ्चालन गरिने जानकारी दिनभयो । उहाँले भन्नुभयो, “कृषक उद्यमी तथा नागरिकको फाईदाका लागि हामी यस्ता परियोजनालाई निरन्तर रुपमा लक्ष्य सम्म पुर्याउने छौं ।”नागरिकले प्रगती र बिकासलाई तथ्याङकको तस्विरमा हेर्न चाहेको भन्दै परियोजनालाई सोही अनुरुप सञ्चालन गरिनुपर्ने धारणा समेत राख्नु भयो ।

जनप्रनिधिहरु नागरिकका साझा व्यक्ति भएको भन्दै खाँणले नगरको बिकासमा सबै मिलेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले कार्यक्रम सफल पार्ने सहयोग गर्ने बिकास र संमृद्धि आफूहरुको प्राथमिकतामा रहेको स्पष्ट पार्नु भयो । कार्यक्रममा बोल्दै नगरउपप्रमुख कविता तिवारी गैह्रेले वालिङका नागरिकको भावना अनुरुप आर्थिक संमृद्धिको लागि परियोजना प्रभावकारी हुने बिश्वास व्यक्त गर्नुभयो । वालिङमा उद्यमीको शहर बनाउने गरी भईरहेका कामलाई आफूहरुले पनि निरन्तरता दिने तिवारीको भनाई छ । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले दिगो बिकासको लक्ष्य प्राप्तीका लागि युएनडिपीसँगको सहकार्य प्रभावकारी भईरहेको बताउनु भयो । कार्यक्रममा युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले स्थानीय उत्पादनलाई प्रवद्र्धन गरी बजारीकरण गर्ने योजना अनुरुप शुरु भएको परियोजना सफल हुने बिश्वास व्यक्त गर्नु भयो । बाली देखि थाली सम्म भन्ने उक्तीलाई स्मरण गर्दै अर्यालले स्थानीय उत्पादनको बृद्धिले मात्रै आर्थिक संमृद्धि सम्भव भएको बताउनु भयो ।

वालिङले गरिरहेको उद्यमीको शहर बनाउने अभियानलाई युएनडिपीले साथ दिएको अर्यालको भनाई छ । वालिङमा सञ्चालन भईरहेको उद्यमशीलता,व्यवशाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्र ईबिक मार्फ उद्यमी अनुकुल बातावरण बनाउने कार्य अरु पालिकाको लागि पनि उदाहरणीय छ अर्यालले भन्नुभयो । उहाँले आर्थिक, सामाजिक र वातावरणीय गरी दिगो बिकासका तीन वटा आयामलाई प्रभावकारी कार्यान्वयन गरेमा दिगो बिकासका लक्ष्य प्राप्त हुन सक्ने भनाई राख्नु भयो । कार्यक्रममा दियालो संस्थाका उपाध्यक्ष बिष्णु सुवेदी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले बोल्नु भएको थियो । कार्यक्रम नगरप्रमुख कृष्ण खाँणको सभापतित्व र परियोजना प्रमुख राधाकृष्ण डुम्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय