बीएम टीपीबी फाउन्डेशन आई केयर सेन्टरको आयोजना र मुक्तिनाथ विकास बैंक सहयोगमा चापाकोटमा आँखा शिविर सम्पन्न

२०७९ श्रावण ३०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ३० साउन । ग्रामिण क्षेत्रका जनताको आँखा स्वास्थ्यमा पहुँच पुर्‍याउन स्याङ्जाको चापाकोट नगरपालिका -९ सुन्तलीटारमा शनिबार निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।

बीएम टीपीबी फाउन्डेशन आई केयर सेन्टरको आयोजनामा भएको सो शिविरमा १०३ जनाले निशुल्क आँखा जाँच गराउनुभएकाे थियाे । शिविरको नेतृत्व गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ नेत्र विशेषज्ञ डा आश्विन थकाली चापाकोट पुग्नुभएकाे थियाे । त्यहाँ उहँलाई नेत्र सहायक देविका गौतम, आकृति दराई कुमाल लगायतले सहयोग गर्नुभएकाे थियाे ।

शिविरमा दृष्ट्रि जाँच, मोतियाविन्दु, जलविन्दु लगायतका आँखा स्वास्थ्य सम्वन्धी सम्पूर्ण जाँच गरिएको थियो । साथै मधुमेह भएका व्यक्तिलाई हुने आँखाको समस्याका बारेमा जानकारी समेत गराईएको थियो ।

शिविर सुरु गर्नु अघि औपचारिक कार्यक्रममा वडाध्यक्ष कृष्ण सुवेदीले शिविरले स्थानीय जनताको स्वास्थ्य सेवामा थप टेवा पुरयाएको बताउनुभयाे । निवर्तमान वडाध्यक्ष शंकरभक्त भण्डारीले चापाकोटमा स्वास्थ्य सेवाका लागि बीएम टीपीबी फाउन्डेनको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयाे ।फाउन्डेशनको तर्फबाट डा.बुद्धिमान श्रेष्ठले आँखा स्वास्थ्यको महत्वको चर्चा गर्दै फाउन्डेशनले ग्रामिण क्षेत्रमा सेवा पुरयाउने उदेश्यले यस्तो शिविर आयोजना गरेको बताउनुभयाे ।

चापाकोटमा दुई वर्ष अघि देखि बीएम टीपीबी फाउन्डेशन आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । शनिबारको शिविरलाई बीएम फाउन्डेशन, ताईवान फ्रिभेन्ट व्लाइन्डनेश फाउन्डेशन, केडीसी जनरल हस्पिटल काठमाडौँको सहयोग थियो । यस्तै शिविरलाई आर्थिक सहयोग मुक्तिनाथ विकास बैंक काठमाडौँले गरेको थियो । शिविरमा बैंकका प्रतिनिधि सुश्मा सेन ठकुरी र मञ्जु विकको समेत उपस्थिति रहेको डा श्रेष्ठले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार