वीरगञ्ज २६ अठराहाँमा देखिएको रोग चिकेनपक्स (ठेउला)भएको पुष्टि

२०७९ मंसिर २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

वीरगञ्ज,२९ मंसिर । वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहाँमा दादुरा र रुबेला जस्तै लक्षण देखिएका बिरामी चिकेनपक्सको संक्रमित भएको पाइएको छ ।

दादुरा र रुबेलाको लक्षणसँग मिल्दोजुल्दो बिरामी देखिएको खबर आएसँगै महानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखाबाट ल्याबसहित खटिएको स्वास्थ्यकर्मीको टोलीले त्यहाँ देखिएका बिरामी चिकेनपक्स (ठेउला)को संक्रमित भएको पुष्टि गरेको हो । चिकेन पक्स सरुवा रोग भएको र यो हरेक वर्ष जसो छिटफुट व्यक्तिमा देखिने गरेको महानगरका जनस्वास्थ्य निरीक्षक सुनिल कुर्मीले जानकारी दिनुभएकाे छ ।

‘अठराहाँमा दादुरा र रुबेलाका बिरामी भेटिएको भन्ने खबर आयो,’ कुर्मीले भन्नुभयाे , ‘खबर आएसँगै महानगरको स्वास्थ्यकर्मीको टोली ल्याबसहित पुगेर बिरामीको स्क्रिनिङ, रोगको इतिहास र शारिरिक परीक्षण गर्दा चिकेनपक्स भएको खुल्यो ।’वडा नम्वर २६ को सुगौली स्वास्थ्य चौकीमा पछिल्लो केही दिनदेखि यस्ता बिरामीहरु उपचारका लागि आउनुभएकाे  थियाे । त्यस क्षेत्रमा आजसम्म ९१ जनामा यस्तो लक्षण भएकाहरु उपचारका लागि स्वास्थ्य चौकीमा आएको स्वास्थ्य चौकी इन्चार्ज पुजा गुरुङले जानकारी दिनुभयाे ।

७५ जनामा संक्रमण निको भइसकेको र बाँकी बिरामीको अवस्था पनि सामान्य रहेको उहाँले बताउनुभयाे । ठूलै संख्यामा दादुरा र रुबेलासँग लक्षण मिल्ने बिरामी भेटिएपछि आफूले थप सहयोगका लागि स्वास्थ्य महाशाखामा जानकारी गराएको उहाँले बताउनुभयाे । जानकारी पाएसँगै पुगेको टोलीले घरघरमै पुगेर बिरामीलाई भेट्नुका साथै उहाँहरुको स्वास्थ्य अवस्था परीक्षण गरेको थियो ।

टोलीले स्थानीय जम्मा गरेर चिकेनपक्स बारेमा स्वास्थ्य चेतना जगाउने काम गर्नुका साथै स्वास्थ्य स्वंयसेवीहरुलाई टोलटोलमा परिचालन गराएको छ ।
विगतका वर्षमा छिटफुटमा देखिएको यो बिरामीको संख्या वीरगञ्जमा एउटै ठाउँमा यति धेरै संख्यामा भने पहिलो पटक देखिएको जनस्वास्थ्य निरीक्षक कुर्मीले बताउनुभयाे ।

चिकेनपक्स (ठेउला) विशेष गरेर २ वर्षदेखि १० वर्ष उमेर समुहका बालबालिकामा देखिने गरेको भए पनि यहाँ जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय