वीरगञ्जमा परिवार नियोजनको अस्थायी साधन ‘सायना प्रेस’ सेवा सुरू

२०७९ पुष १३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

वीरगञ्ज,१३ पुस । वीरगञ्ज महानगरपालिकाले परिवार नियोजनको अस्थायी साधन ‘सायना प्रेस’ सेवा सुरू गरेको छ ।

बुधबार गर्भ निरोधक नयाँ साधनको विषयमा जानकारी गराउन आयोजित कार्यक्रममा महानगरका मेयर राजेशमान सिंहले सेवा सुरु गराउनुभएको हो । उहाँले यो सेवा प्रभावकारी ढंगले सबैको पहुँचमा पुग्ने गरी लैजान स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । स्वास्थ्य संस्थामा आएका सेवाग्राहीलाई सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न निर्देशन दिँदै मेयर सिंहले हेलचेक्र्याइ गर्नेलाई कारबाही गरिने चेतावनी पनि दिनुभयो।

महानगरभित्रका हरेक स्वास्थ्य चौकीमा ‘सायना प्रेस’ पुगिसकेको भन्दै सेवाग्राहीलाई सहजताका साथ यसको प्रयोग गराउन महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले आग्रह गर्नुभयोे । महिलाले प्रयोग गर्ने ३ महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेस सेवा महानगरका सबै स्वास्थ्यचौकी र केन्द्रबाट प्रदान गरिने उहाँले बताउनुभयो । सायना नामक सुई एक पटक लगाएपछि ३ महिनासम्म गर्भ रहनबाट रोक्ने छ । विश्वका अन्य देशमा सायना प्रेसलाई आफैंले लगाउन मिल्ने सुईका रुपमा प्रयोग गरिएको भए पनि नेपालमा भने सुई आफैं लगाउन अनुमति दिइएको छैन । यसको प्रभावकारिता ९९ प्रतिशत रहेको समेत उहाँले बताउनुभयो।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाका स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई ‘साइना प्रेस’ लगाउने बारेमा प्रशिक्षण दिइएको हो । गएको साउन महिनादेखि नै ‘साइना प्रेस’ सुरु गर्नु पर्ने भए पनि स्वास्थ्यकर्मीहरु प्रशिक्षित नहुँदा लागु गराउन सकिएको थिएन । जिल्ला स्वास्थ्य कार्यालयले प्रशिक्षण दिएसँगै बिहीबारबाट महानगरका ३२ वटै वडाका स्वास्थ्य चौकी र केन्द्रमा यो सेवा सुरु हुने महानगरको स्वास्थ्य शाखाकी इन्दिरा लोहनीले जानकारी दिनुभयो ।

‘स्वास्थ्यकर्मी प्रशिक्षित नहुँदा केही ढिला गरी यो सुरु भएको छ,’ उहाँले भन्नुभयो,‘अब बिहीबारदेखि ३२ वटै वडामा अस्थायी परिवार नियोजनको लागि आउने महिलाले यो सेवा लिन सक्नेछन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय